त्रिकोणात्मक सिरिजको सर्वोत्कृष्ठ कुशल भुर्तेल

प्रज्जवल थापा । नेपाली टोलीका युवा ओपनिङ ब्याट्सम्यान कुशल भुर्तेल त्रिकोणात्मक टि–२० आई सिरिजको सर्वोत्कृष्ठ खेलाडी घोषित भएका छन् । नेपाललाई च्याम्पियन बनाउन महत्वपूर्ण भूमिका खेलेका कुशल प्रतियोगिताकै उत्कृष्ट खेलाडी चुनिएका हुन् ।

कुशलले प्रतियोगिताको पाँच खेलमा ४ अर्धशतक सहित २ सय ७८ रन बनाएका थिए । शनिबार भएको फाइनल खेलमा कुशलको ७७ रनको मद्दतमा नेपालले २ सय ३८ रनको विशाल योगफल तयार पारेको थियो । कुशलले ५३ बलमा ८ चौका र ३ छक्का प्रहार गरेका थिए । नेपालले फाइनल खेलमा नेदरल्याण्ड्सलाई १ सय ४२ रनले पराजित गर्दै ११ वर्षपछि घरेलु मैदानमा उपाधि उचालेको हो ।

यसअघि कुशलले नेदरल्याण्ड्सविरुद्ध भएको उद्घाटन खेलमा ४६ बलमा ५ चौका र ५ छक्काको मद्दतमा ६२ रन जोडेका थिए । मेलेसियासँगको दोस्रो खेलमा कुशलले ४१ बलमा ५ छक्का र ३ चौकाको सहयोगमा ६१ रन बनाएका थिए । यस्तै तेस्रो खेलमा नेदरल्याण्ड्सविरुद्ध ४६ बलमा ८ चौका र १ छक्काको मद्दतमा ६२ रन जोडेका भुर्तेल मलेसियासँगको चौथो खेलमा भने १६ रनमा आउट भएका थिए ।

फाइनल खेलमा ७७ रन जोड्दै भुर्तेल २०२१ मा सार्वधिक टि–२० आई रन बनाउने खेलाडीको सुचीमा भारतीय कप्तान विराट कोहलीलाई पछि पार्दै पाचौं स्थानमा उक्लिएका छन् । कोहलीले पाँच खेलमा २ सय ३१ रन बनाउदै सुचीको छैटौं स्थानमा रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *