माधव नेपालसँग ओलीले गरेको दुई चरणको भेट भ्रम छर्ने रणनीतिः भीम रावल

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष डा. भीम रावलले आफूहरु नभई पार्टी अध्यक्ष केपी शर्मा ओली पार्टी फुटाएर जान लागेको बताएका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित साक्षात्कारमा रावलले आफूहरु नभई ओली नै पार्टी फुटाएर जान लागेको बताएका हुन् । रावलले ओलीले पार्टी फुटाएर गएमा निर्णायक कदम चाल्ने बताए । कसैको धम्कीबाट नडराउने भन्दै एमालेको आफूहरु निर्वाचित पदाधिकारी भएको बताए ।

नवौं महाधिवेशनको म्यान्डेट अनुसार ओली अध्यक्ष भएको र आफूहरु पनि पदाधिकारी भएको बताए । रावलले भने,‘हामी नेकपा एमालेमा टाँस्सिएका होइनौं, निर्वाचित पदाधिकारी हौं ।’

उनले सांसद पद जाने गरी विधि विधान विपरित कार्य नगरेकाले अध्यक्ष केपी शर्मा ओलीले पदमुक्त गर्न नसक्ने जिकिर गरे । उनले भने, ‘कुनै व्यक्तिले हटाउँदैमा हाम्रो सांसद पद जाँदैन । सांसद पदबाट मुक्त हुन संविधानले स्पष्ट रुपमा विधि तोकेको छ भन्ने हेक्का होस् ।’

विधि र विधान विपरित कसैले पदबाट हटाउँदैमा नहट्ने तर्क गर्दै ओलीको गतिविधि नेकपा एमाले विभाजनको दिशातर्फ बढिरहेको आरोप लगाए । उनले सांसद पदबाट आफूहरु हट्न राजीनामा दिनुपर्ने, दल त्याग गर्नुपर्ने, ह्वीप उल्लंघन गरेको हुनुपर्ने उल्लेख गरे ।

उनले भने,‘हामीले सांसद पदबाट हट्नुपर्ने कुनै त्यस्तो कार्य गरेका छैनौं, कसैले हटाएर हट्दैनौं ।’ रावलले आफूहरुमाथि अलग पार्टी बनाएको आरोप हास्यास्पद भएको बताए । उनले भने,‘अलग पार्टी चलाएको र संचालन गरेका छैनौं ।’

ओलीले सहमतिका लागि भन्दै माधवकुमार नेपालसँग गरेको दुई चरणको भेटलाई भ्रम छर्ने रणनीतिको संज्ञा दिए । कार्यकर्तामाझ मिलाउन खोजेको थिएँ भनी भ्रम छर्न ओलीले नेताहरुसँग पछिल्लो समय भेटवार्ता गरेको सुनाए ।

ओलीले गठन गरेको स्थायी कमिटी र महाधिवेशन आयोजक कमिटीलाई अवैधानिकको संज्ञा दिए । अवैधानिक कमिटी बनाएर गरिएको बैठक अवैधानिक नै हुने तर्क गर्दै सहभागी हुन नसक्ने बताए । सहमतिका लागि २ जेठ २०७५ को अवस्थामा नेकपा एमालेको संरचनालाई सक्रिय बनाउनुको विकल्प नभएको बताए ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *