नेपाल सुपर लिगको विजेतालाई ३५ लाख

प्रज्जवल थापा । नेपालमा पहिलो पटक आयोजना हुन लागेको फ्रेन्चाइज फूटबल प्रतियोगिता नेपाल सुपर लिग(एनएसएल) को विजेताले ३५ लाख रुपैयाँ पाउने भएको छ । आयोजक नेपाल स्पोर्ट्स म्यानेजमेन्टले शुक्रबार पत्रकार सम्मेलन गरी प्रतियोगिताको विजेताले ३५ लाख रुपैयाँ पाउने जनाएको हो ।

यस्तै उपविजेताले १५ लाख रुपैयाँ पाउनेछ । विधागत रुपमा उत्कृष्ट हुने खेलाडीले एक/एक लाख रुपैयाँ पाउनेछन् । यस्तै इमर्जिङ खेलाडीलेपनि १ लाख रुपैयाँ पाउनेछ । हरेक खेलको ‘म्यान अफ दि म्याच’ र ‘इमर्जिङ प्लेयरले क्रमशः २५ हजार र १० हजार पाउनेछन् ।

भोलि(शनिबार) बाट सञ्चालन हुने लिगमा सात टिमको सहभागिता रहनेछ । सहभागी टिममा काठमाडौं रेजर्स फूटबल क्लब, ललितपुर सिटी फूटबल क्लब, पोखरा थन्डर्स, विराटनगर सिटी फुटबल क्लब, एफसी चितवन, धनगढी एफसी र बुटवल लुम्बिनी एफसी रहेका छन् ।

शनिबार हुने उद्घाटन खेलमा काठमाडौं रेजर्स र ललितपुर सिटी फूटबल क्लब भिड्नेछन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा हुने खेल बेलुकी ५:३० बजे शुरु हुनेछ । खेलको प्रत्यक्ष प्रशारण एपिवान एचडी टेलिभिजनले गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *