USAID

मलेसियामाथि नेपालको शानदार जित


प्रज्जवल थापा । कीर्तिपुरमा जारी त्रिकोणात्मक सिरिज अन्तर्गत आज भएको समूह चरणको अन्तिम खेलमा नेपालले शानदार जित निकालेको छ । बिहीबार दिउँसो टियु क्रिकेट मैदानमा भएको खेलमा नेपालले मलेसियालाई ६९ रनले पराजित गरेको हो ।

जितसँगै नेपाल अङ्क तालिकाको शिर्ष स्थानमा रहेर फाइनल प्रवेश गरेको छ । जितको लागि २ सय १८ रनको लक्ष्य पछ्याएको मलेसिया १९.१ ओभरमा अलआउट हुँदै १ सय ४८ रनमा खुम्चियो । मलेसियाको लागि अमिनुदिन राम्लेले सार्वधिक ४१ रन जोडे । उनले १८ बलमा ५ छक्का र १ चौका प्रहार गरे । कप्तान अहमद फाइजले २१ बलमा ४ चौका र १ छक्काको सहयोगमा ३१ रन जोडे । यस्तै फित्री शामले १४, विरनदिप सिंहले १३ र हफिजले ११ रन जोडेपनि टोलीको जितको लागि पर्याप्त रहेन ।

मलेसियालाई सामान्य स्कोरमा रोक्न सोमपाल कामी, कमल सिंह एरि र सन्दिप लामिछानेले ३/३ विकेट लिँदा सुशान भारीले एक विकेट लिए । डेब्यु खेल खेलेका एरिले ३.१ ओभरमा १६ रन मात्र खर्चेर ३ विकेट लिएका हुन् । महंगो साबित भएका सन्दिपले ४ ओभरमा ४२ रन खर्चिए । यस्तै सोमपालले ४ ओभरमा १ मेडन राख्दै २० रन दिँदा सुशानले समान ओभरमा ३५ रन दिएर एक सफलता पाए ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ७ गुमाउँदै २ सय १७ रन बनाएको थियो । नेपाललाई विशाल योगफलमा पुर्याउन करण केसीले बिस्पोटक ब्याटिङ गरे । उनले १३ बलमा ७ चौकाको मद्दतमा ४५ रन जोडे । ओपनर असिफ शेखले ३२ बलमा ३ चौका र ३ छक्काको मद्दतमा ४२ रन जोड्दा कप्तान ज्ञानेन्द्र मल्लले ४१ रनको योगदान गरे । उनले २५ बलमा ४ छक्का र १ चौका प्रहार गरे । यस्तै दिपेन्द्र सिंह एरिले १७ बलमा ५ चौका र १ छक्काको मद्दतमा ३३ रन जोड्दा कुशल मल्लाले १९, कुशल भुर्तेलले १२ बिनोद भण्डारीले ८ र सोमपाल कामीले २ रन जोडे ।

मलेसियाको लागि सायेद अजिजले १ ओभर बलिङ गर्दै ४ रन दिएर २ विकेट लिए । फिर्ती शमले ४ ओभरमा ३२ रन दिएर २ विकेट लिए । यस्तै अन्वार रहमानले ४ ओभरमा ३७ रन दिएर २ विकेट लिँदा र मुहामद वाफिकको नाममा १ विकेट रह्यो । जितसँगै नेपाल शिर्ष स्थानमा रहेर फाइनल पुगेको छ भने नेदरल्याण्ड्सले यसअघिनै फाइनलको टिकट काटिसकेको छ । हारसँगै मलेसिया प्रतियोगिताबाट बाहिरिएको छ ।

नेपाल र नेदरल्याण्ड्सबिचको फाइनल खेल शनिबार टियु क्रिकेट मैदानमा हुनेछ ।


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *