काठमाडौं । नेकपा एमालेको पार्टी मुख्यालय बिहीबारदेखि औपचारिक रुपमा थापाथालीबाट सञ्चालन भएको छ । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी केन्द्रीय कार्यालय भवनको बिहीबार उद्घाटन गरेपछि औपचारिक रुपमा सञ्चालन भएको हो ।
यसअघि यही वैशाख १ गते नै कार्यालय धूम्रबाराहीस्थित पासाङल्हामु स्मृति प्रतिष्ठानबाट थापाथलीमा सरेको थियो । आज बिहान साढे १० बजे प्रधानमन्त्री ओली पार्टी मुख्यालयमा पुगी आफ्नो कार्यकक्षमा बस्नुभएको कार्यालय सचिव ईश्वरी रिजालले जानकारी दिए ।
यस्तै स्थायी कमिटी बैठक बस्ने कार्यकक्षमा पनि पार्टी अध्यक्ष ओली, महासचिव ईश्वर पोखरेल, अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलसंँग केहीबेर बसेका थिए ।
तीन रोपनी क्षेत्रफलमा फैलिएको उक्त कार्यालयमा पार्टी अध्यक्ष, महासचिव, विदेश विभाग प्रमुख, सङ्गठन विभाग प्रमुखलगायतका कार्यकक्ष सहित १२ कोठा छन् ।
प्रधानमन्त्री ओली गत चैत ११ गते पार्टीको नयाँ मुख्यालयको निरीक्षण गरेका थिए । एमालेले चक्रपथ विस्तारका क्रममा कार्यालयमा आउजाउ गर्न कठिन हुने भएकाले पार्टी मुख्यालय थापाथलीमा सारेको हो । विसं २०७२ को भूकम्पले बल्खु, मदननगरस्थित पार्टी मुख्यालय भत्किएपछि एमालेले धूम्रबाराहीस्थित प्रतिष्ठानको कार्यालय भाडामा लिई सञ्चालन गरेको थियो ।