धरहरामा राखियो ३३० किलोको गजुर

काठमाडौँ । पुरानो भूकम्पले क्षतिग्रस्त भएपछि पुनःनिर्माण जारी नयाँ धरहराको २२ तलामाथि गजुर राखिएको छ । नेपाली सेनाले विगुल फुकी, मंगल धुन र स्वस्तीक वाचनसहित बुधबार बिहान ८ः ०० बजेको शुभ साइतमा गजुर राखिएको हो ।

उक्त गजुर ३३० किलोको छ। गजुर तामाबाट बनेको छ भने बाहिरी आवरण सुनले लेपन गरिएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका सम्पदा विज्ञ राजुमान मानन्धरले जानकारी दिए । उनले भने धरहराको टुप्पामा ३३० किलोको सुनको जलप लगाएको गजुर राखिएको छ, त्यसमा ९५ तोला तीन लाल सुन छ ।

गजुरसँगै धरहराको २२औं तलामा पुरानै शिवलिंग विशेष पूजा गरेर स्थापना गरिएको छ । पुनर्निर्माण कार्य जारी नयाँ धरहराको प्रधानमन्त्री केपी शर्मा ओलीबाट आगामी ११ वैशाखमा उद्घाटन हुँदैछ ।

भूकम्प गएको दिनभन्दा एक दिनअघि ११ वैशाखमा धरहरा उद्घाटन गरिए पनि सर्वसाधारणले चढ्न भने अझै लामै समय कुर्नुपर्नेछ । कोरोना तथा लकडाउनलगायत कारण धरहरा निर्माण सम्पन्न हुने समय आगामी २५ डिसेम्बरसम्म थप गरिएको छ । त्यो समयभित्र निर्माण सम्पन्न हुने हो भने पनि सबै दृश्य अवलोकन गर्न सर्वसाधारणले अझै आठ महिना प्रतीक्षा गर्नुपर्ने देखिएको छ ।

प्राधिकरणका इन्जिनियर राजुमान मानन्धरले धरहरा उद्घाटन गरेर पुनर्निर्माण सन्देश दिन लागिएको बताएका छन् । प्राधिकरणले ८ लाख निजी घर, सयौं विद्यालय, स्वास्थ्य संस्था तथा सरकारी भवन पुनर्निर्माण सम्पन्न गर्दा धरहरा उद्घाटन नगर्दा पुनर्निर्माणले गति लिएको सन्देश नगएकाले उद्घाटन गर्न लागिएको बताउँछन् । इन्जिनियर मानन्धरले भूकम्पले भत्किएको भाग पुनर्निर्माण सम्पन्न भइसकेको र पछि थपिएका संरचना मात्र निर्माण कार्य बाँकी रहेकाले उद्घाटन गर्न लागिएको बताए ।

सरकारले धरहरा पुनर्निर्माणअन्तर्गत हुलाक कार्यालयसम्मको जग्गामा पार्किङ, बगैंचालगायत संरचनना गरेर पुनर्निर्माण गरिरहेको छ । भत्किएको धरहरा संरचना करिब तयार भए पनि पार्किङ र बगैंचातर्फको काम भने सकिएको छैन ।

धरहरावरपरको २९ रोपनीमा विस्तारित रूपमा सुन्धारा समेटेर पार्क बनाउने सरकारी योजनाअनुसार ३ अर्ब ८ करोड लागतमा रमण कन्स्ट्रक्सनले ठेक्का लिएर धरहरा पुनर्निर्माण गरिरहेको छ । कम्पनीले १४ असोज २०७५ मा निर्माण ठेक्का पाएको थियो ।

गोश्वारा हुलाक र टक्सार विभागको २३ रोपनी जग्गा खाली गरेर त्यहाँ पार्क बनाउन लागिएको छ । धरहरा परिसरमा म्युजियम, थिएटर, वाटर फाउन्टेन, आकर्षक बगैंचा, रेस्टुराँ, पार्किङलगायत सुविधा हुनेछन् ।

१९९० सालको भुइँचालोअघि धरहरा ११ तलाको थियो । भुइँचालोले दुई तला भत्काएपछि नौ तलामा सीमित रहेको समाचार राजधानी दैनिकमा छापिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *