सभामुखविरुद्धको मुद्दाको पेशी संवैधानिक इजालसमा तोकियो

काठमाडौं । सभामुख अग्नि सापकोटाविरुद्धको सर्वोच्च अदालतमा विचाराधीन कर्तव्य ज्यान मुद्दाको सुनुवाई आज हुने भएको छ । सापकोटाविरुद्धको मुद्दा संवैधानिक इजलासमा तोकिएको छ ।

संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा, न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खडका, हरिकृष्ण कार्की र इश्वर खतिवडा रहेका छन् । लामो समयदेखि पेसीमा नचढेको यो मुद्दा आज सुनुवाई हुन लागेको हो ।

सशस्त्र द्वन्द्वको बेला काभ्रेका अर्जुन लामाको २०६२ वैशाख १६ गते तत्कालीन माओवादीले अपहरण गरी हत्या गरेको अवस्थामा दुई महिनापछि शव फेला परेको थियो । हत्यामा सापकोटाको संलग्नता रहेको भन्दै अर्जुनको श्रीमती पूर्णिमायाले २०६९ मंसिर ७ गते कर्तव्य ज्यानमुद्दा अघि बढाउन माग गर्दै रिट निवेदन दायर गरेकी थिइन्।

उक्त रिटको पछिल्लो पटक गत माघ २३ गते संवैधानिक इजलासमा पेसी चढेको पनि हेर्न नभ्याइनेमा परेको थियो। यो रिट यसअघि १९ पटक पेसीमा चढेको थियो । सुरुमा पूर्णिमायाको जाहेरी प्रहरीले लिन नमानेको यो मुद्दा सर्वोच्च अदालतमा चलिरहको छ । जिल्ला प्रशासनको आदेशमा प्रहरीले जाहेरी नलिएको विषयलाई लिएर पूर्णिमायाले सर्वोच्च अदालतमा रिट दायर गरेकी हुन् ।

रिटमा सुनुवाइ गर्दै सर्वोच्चले २०६४ फागुन २७ गते उनको जाहेरी दर्ता गर्न प्रहरी र जिल्ला प्रशासन कार्यालयका नाममा आदेश दिएको थियो । अदालतको आदेशपछि काभ्रे प्रहरीले २०६५ साउन २७ गते सापकोटा लयायत अन्य ६ जना माओवादीविरुद्ध कर्तव्य ज्यान मुद्दाको उजुरी दर्ता गरेको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *