USAID

नेपालको लगातार दोस्रो जित, मलेसिया ९ विकेटले पराजित

  • 1.1K
    Shares

प्रज्जवल थापा । ओपनरद्वय कुशल भुर्तेल र असिफ शेखको उत्कृष्ट प्रदर्शनमा नेपालले त्रिकोणात्मक टि–२० आई सिरिजमा लगातार दोस्रो जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले मलेसियामाथि ९ विकेटको शानदार जित निकालेको हो ।

जितको लागि १ सय १० रनको लक्ष्य पछ्याएको नेपालको लागि युवा ओपनरद्वय कुशल भुर्तेल र असिफ शेखले लगातार दोस्रो खेलमा शतकीय साझेदारी गरे । नेपालले १२.१ ओभरमा १ विकेटको क्षतिमा १ सय १३ रन बनाउदै लक्ष्य भेट्टाएको हो । नेपालको लागि कुशल भुर्तेलले लगातार दोस्रो खेलमा अर्धसतक पूरा गरे ।

उनले ४१ बलमा ५ छक्का र ३ चौकाको मद्दतमा ६१ रन जोडे । यस्तै अर्का ओपनर असिफ शेखले २९ बलमा ४ चौका र १ छक्काको मद्दतमा ४२ रन जोडे । उपकप्तान दीपेन्द्र सिंह ऐरी भने ६ बलमा नआउट रहे । मलेसियाको लागि भिरनदीप सिंह १ ओभरमा ७ रन दिएर इनिङ्सको एकमात्र विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङ गर्न उत्रिएको मलेसियाले १६.५ ओभरमा अलआउट हुँदै १०९ रन जोडेको थियो । मलेसियाको लागि सयेद अजिजले सार्वधिक २७ रन जोडे । उनले २४ बलमा ४ चौका र १ छक्का प्रहार गरे । यस्तै शार्भिन मुनिएन्डीले २० र शाफी शारिफले १५ रन जोड्दा अन्य ब्याट्सम्यानले दोहोरो अङ्क बनाउन सकेनन् ।

नेपालको लागि करण केसीले ३ ओभर बलिङ गर्दै २५ रन दिएर ३ विकेट लिए । सन्दीप लामिछानेले ३.५ ओभरमा २५ रन दिएर २ विकेट लिए । यस्तै सोमपाल कामी, दिपेन्द्र सिंह एरी, शहाब अलाम र कुशल मल्लको नाममा १/१ विकेट रह्यो । यससँगै नेपालले प्रतियोगितामा लगातार दोस्रो जित निकाल्दै २ खेलमा ४ अङ्क जोड्दै अङ्क तालिकाको शिर्ष स्थानमा रहेको छ । भोलि(मंगलबार) हुने खेलमा नेपालले नेदरल्याण्ड्ससँग खेल्नेछ ।


  • 1.1K
    Shares
CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *