USAID

कर्णाली प्रकरण दोहोरिने डरले प्रदेश एकको अधिवेशन अन्त्य !


विराटनगर । प्रदेश एकको प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्य गरिएको छ । माघ ७ गते शुरू भएको प्रदेशसभाको सातौं अधिवेशन मन्त्रिपरिषदको सिफारिसमा प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले आइतबार मध्यरातदेखि लागू हुनेगरी अन्त्य गरेका हुन् ।

बैठकमा विपक्षीको कुरा राख्न सभामुख प्रदीपकुमार भण्डारीले समय दिएपछि प्रमुख विपक्षी नेपाली कांग्रेसका केदार कार्कीले सरकारको जवाफ आउनुपर्ने माग गरेका थिए । तर, सभामुख भण्डारीले प्रदेश प्रमुखको कार्यालयबाट अधिवेशन अन्त्यसम्बन्धी प्राप्त पत्र पढेर सुनाई हिउँदे अधिवेशन अन्त्य भएको घोषणा गरे । यसबीच विपक्षी दलका सांसदले सरकारले जवाफ दिनुपर्ने मागसहित नाराबाजी गरेका थिए ।

विपक्षीले उठाएको मागको सम्बन्धमा मुख्यमन्त्री शेरधन राईले जवाफ भने दिएनन् । प्रदेशसभाको सातौँ तथा हिउँदे अधिवेशन गत माघ ७ गते सुरु भएको थियो । त्यसयता जम्मा आठपटक मात्र बैठक बस्यो । सरकारले अधिवेशनभर कुनै पनि विधेयक सदनमा छलफल गराएन ।

तत्कालीन नेकपाभित्रको विवाद तथा सरकार ढाल्ने र नयाँ बनाउने प्रयासले प्रदेशसभा समेत प्रभावित बन्न पुगेको छ । पछिल्लोपटक सरकारले विनियोजन गरेका बजेट, दीर्घकालीन महत्वका योजनामा भएको प्रगति, निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमलगायत विषयमा सरकारको जवाफ माग्दै विपक्षी दलले प्रदेशसभा बैठक अवरोध गर्दै आएका थिए । कर्णाली प्रदेशमा एमालेले सरकार बनाउन लागेकोमा एमालेकै सांसदले माओवादी केन्द्रलाई साथ दिएपछि सरकार बनाउने प्रयास असफल भएको थियो ।

त्यस्तै गण्डकी प्रदेशमा पनि अविश्वासको प्रस्ताव आउन लागेको भन्दै मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले अधिवेशन अन्त्य गरेका छन् । तर उनीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्दै विपक्षी दलले विशेष अधिवेशनका लागि प्रदेश प्रमुखसमक्ष समावेदन गरिसकेका छन् ।

त्यस्तै लुम्बिनी प्रदेशमा पनि अविश्वास प्रस्ताव दर्ता हुन लागेपछि त्यसबाट जोगिन मुख्यमन्त्री शंकर पोखरेलले पनि अधिवेशन अन्त्य गरेका छन् । त्यहाँ पनि विपक्षी दल पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ताको तयारी गरिरहेका छन् ।

कर्णालीमा पार्टीकै सांसदले ह्वीप उल्लंघन गरी माओवादीलाई साथ दिएपछि अहिले एमालेले नेतृत्व गरेका प्रदेशमा मुख्यमन्त्रीहरु धमाधम अधिवेशन अन्त्य गर्न लागेका छन् । प्रदेश एकका मुख्यमन्त्री शेरधन राईले पनि अविश्वास प्रस्ताव आउने डरले अधिवेशन अन्त्य गरेको विपक्षी दलले आरोप लगाएका छन् ।


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *