त्रिकोणात्मक सिरिज: उद्घाटन खेलमा आज नेपाल र नेदरल्याण्ड्स भिड्दै

प्रज्जवल थापा । बजाज पल्सर त्रिकोणात्मक टि-२० आई सिरिजको उद्घाटन खेलमा आज नेपाल र नेदरल्याण्ड्स भिड्दैछन् । टियु क्रिकेट मैदानमा हुने खेल दिउँसो १:१५ बजे शुरु हुनेछ । खेलको प्रत्यक्ष प्रशारण हिमालयन टेलिभिजनले गर्नेछ ।

आज हुने खेलमा दुवै टोली जित निकाल्ने लक्ष्य साथ मैदान उत्रिनेछन् । आजको खेल जित्दै घरेलु टोली नेपालले प्रतियोगितामा सुखद शुरुवात गर्न चाहन्छ । शुक्रबार भएको पत्रकार सम्मेलनमा दुवै टोलीले उपाधि जित्ने लक्ष्य रहेको बताएका थिए । नेपालले झण्डै १३ महिनापछि अन्तराष्ट्रिय खेल खेल्न लागेको हो । विश्वभर फैलिएको कोरोना महामारीको कारण नेपालले पछिल्लो समय कुनै अन्तराष्ट्रिय खेल खेलेको थिएन । आजको खेलमा नेपाल पारस खड्काबिना मैदान उत्रिनेछ । उनी चोटकारण सिरिजबाट बाहिर रहेका छन् ।

यता नेदरल्यान्ड्सपनि सन् २०१९ मा दुबईमा भएको टि-२० विश्वकप क्वालिफायर जितेपश्चात कुनै खेल खेलेको छैन । भारतमा हुने टि-२० विश्वकपमा सहभागिता जनाउने नेदरल्यान्ड्सको लागि यस सिरिज महत्त्वपूर्ण रहेको छ । हालसम्म नेपाल र नेदरल्याण्ड्स ८ पटक टि-२० खेलमा भिडेका छन् । जसमा नेपालले २ खेल जितेको छ भने नेदरल्याण्ड्सले ५ खेल आफ्नो पोल्टामा पारेको छ ।

नेपाल र नेदरल्याण्ड्सको भेट पछिल्लो पटक सन् २०१९ अक्टोबरमा भएको थियो । पेन्टागुलर सिरिज अन्तर्गत भएको खेलमा करण केसीले बिस्पोटक ब्याटिङ गरेपछि नेपाल ४ विकेटले विजयी भएको थियो । हाल टि-२० वरियतामा नेपाल १५ औं स्थानमा रहेको छ भने नेदरल्याण्ड्स १७ औं स्थानमा रहेको छ ।

वैशाख ४ गते देखि ११ गतेसम्म चल्ने प्रतियोगितामा नेपालसहित नेदरल्याण्ड्स र मलेसियाको सहभागिता रहेको छ । डबल राउण्ड रोबिनको आधारमा हुने सिरिजको शीर्ष दुई स्थानमा रहने टिमले उपाधिका लागि भिड्नेछन् । सिरिजको फाइनल खेल बैशाख ११ गते हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *