प्रज्जवल थापा । इण्डियन प्रिमियर लिग(आईपिएल) मा चेन्नई सुपर किङ्सले पहिलो जित निकालेको छ । शुक्रबार बेलुकी भएको खेलमा चेन्नईले पन्जाब किङ्समाथि ६ विकेटको शानदार जित दर्ता गरेको हो ।
मुम्बईमा भएको खेलमा १०७ रनको झिनो लक्ष्य पछ्याएको चेन्नईले १५.४ ओभरमा ४ विकेट गुमाउँदै १०७ रन बनाएर लक्ष्य भेट्टायो । चेन्नाईको लागि फाफ डु प्लेसिस र मोइन अलील्व उत्कृष्ट ब्याटिङ गरे । अलीले ३१ बलमा ७ चौका र १ छक्काको मद्दतमा ४६ रन जोडे । यस्तै डुप्लेसिसले ३३ बलमा ३ चौका र १ छक्काको मद्दतमा ३६ रन जोडे ।
पन्जाबको लागि मोहम्मद शामीले ४ ओभर बलिङ गर्दै २१ रन दिएर २ विकेट लिँदा अर्शदिप सिंह र मुरुगान अश्विनले समान १/१ विकेट लिए ।

यसअघि वानखडे रंगशालामा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको पन्जाबले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १०६ रन बनाएको थियो । खेलमा खराब शुरुवात गरेको पन्जाबले २६ रन जोड्दा ५ विकेट गुमाईसकेको थियो । त्यसपछि ब्याटिङ गर्न आएका शाहरुख खान र रिचार्डसनले पन्जाबको इनिङ्स समाल्ने प्रयास गरेका थिए । खानले ३६ बलमा ४ चौका र २ छक्काको मद्दतमा सार्वधिक ४७ रन जोडे । यस्तै रिचार्डसनले १५, क्रिस गेल र दिपक होडाले समान १०/१० रन जोड्दा अन्य ब्याट्सम्यानले दोहोरो अङ्क बनाउन सकेनन् ।
चेन्नईको लागि दिपक चहारले उत्कृष्ट बलिङ गर्दै ४ ओभरमा १ मेडन राख्दै १३ रन दिएर ४ विकेट लिए । यस्तै साम कुरान, मोइन अली र डिजे ब्राभोको नाममा एक/एक विकेट रह्यो । जितसँगै चेन्नई २ खेलमा २ अङ्क जोड्दै लिगको दोस्रो स्थानमा उक्लिएको छ । आज हुने खेलमा मुम्बई इन्डियन्सले सनराइजर्स हैरबादको सामना गर्नेछ ।
