काठमाडौं । प्रधानमत्री केपी शर्मा ओलीले जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुरसँग भेटवार्ता गरेका छन् । दुवै पक्षका कार्यदलका सदस्यको उपस्थितिमा भएको वार्ता सकारात्मक भए पनि सहमति केही भएको छैन । थप आन्तरिक छलफल र परामर्श गरेर पुनः वार्तमा बस्ने जानकारी ठाकुरले दिएका छन् । प्रधानमन्त्री ओली र ठाकूरबीचको वार्तापछि बालुवाटारमै कार्यदलको छलफल भएको छ ।
कार्यदलमा सरकारी पक्षबाटसंसदीय दलका उपनेता सुवास नेम्वाङ, विष्णु पौडेल र राजन भट्टराई छन् भने जसपाबाट सर्वेन्द्रनाथ शुक्ल र लक्ष्मणलाल कर्ण वार्तामा बस्दै आएका छन् । प्रधानमन्त्रीसँग वार्तामा ठाकुरले पहिले जसपाले राखेका माग र सर्त सम्बोधनका लागि सरकारबाट ठोस् पहल भएपछि मात्र आफूहरूले सहयोगबारे छलफल गर्नसक्ने बताएका थिए । उनले पटकपटक धोखा पाएकोले अब आफूहरू उधारोमा डिल नगर्ने बताउँदै जे गर्ने हो क्यासमै गरौं भनेका थिए ।
जसपाले ओली नेतृत्वसँग साझेदारीका लागि कैलालीका सांसद रेशम चौधरीको मुद्दा फिर्ता र रिहाइ, मधेस आन्दोलन, टिकापुर लगायतका घटनामा लगाइएका मुद्दा फिर्ता गर्नुपर्ने, पूर्वन्यायाधीश गिरीशचन्द्र लालको संयोजकत्वमा गरिएको टिकापुर घटनाको न्यायिक छानविन प्रतिवेदन सार्वजनिक गर्नुपर्ने र मधेसको माग सम्बोधन गर्न संविधान संशोधन,नागरिकता विधेयकमा संशोधन गर्नुपर्ने सर्त राख्दै आएको छ ।
अहिलेको त्रिशंकु संसदमा ३४ सिट जसपा निर्णायक खेलाडीका रुपमा रहेको छ । अहिले जसपाले सरकार र विपक्ष गठबन्धन दुवैतिर कुराकानी जारी राखेको छ । तर कता जाने भनेर अहिलेसम्म संस्थागत निर्णय लिएको छैन । दुवै पक्षले जसपालाई फकाउने कोसिस गरिरहेका छन् । जसपाको साथ पाए ओली सुरक्षित हुनेछन् भने उसको सहयोगबिना कांग्रेस र माओवादी केन्द्रसहितकको सत्ता गठबन्धन पनि संभव हुँदैन । जसपा तटस्थ बसिदियो भने न ओलीले विश्वासको मत पाउनेछन् न त वैकल्पिक सरकार बन्नेछ । त्यो अवस्थामा मुलुक फेरि स्वभाविक रुपमा चुनावमै फर्किने अवस्था बन्नेछ ।
२ सय ७५ सदस्यीय प्रतिनिधिसभामा प्रधानमन्त्री बन्न १ सय ३८ सांसदको समर्थन चाहिन्छ । यसमा केही निलम्वित र केही निधनले गर्दा रिक्त छन् । अहिले संसदमा एमालेका १२०, कांग्रेसका ६ (२ निलम्वित), माओवादी केन्द्रका ४९ (चारजना एमालेतिर फर्केको) र जसपाका ३४ सांसद छन् । तीनजना स्वतन्त्र हैसियतमा छन् ।
ओलीलाई सुरक्षित हुन सिंगो जसपा पनि आवश्यक पर्दैन । १७ मत मात्रै भए ओली सुरक्षित हुन्छन् । त्यसैले सकेसम्म सिंगै जसपासँग सहकार्य गर्ने र त्यो संभव नभए फुटाएर भए पनि आवश्यक संख्या जुटाउने रणनीतिमा बालुवाटार छ । कसलाई सहयोग गर्ने भन्नेबारेमाा जसपाभित्रै विवाद छ । बाबुराम भट्टराई, उपेन्द्र यादवलगायत ओलीसँग सहकार्य गर्न इच्छुक छैनन् । महन्थ ठाकुर र राजेन्द्र महतोलगायत ओलीसँग निकट देखिने समाचार आजको अन्नपूर्णपोस्टमा छापिएको छ ।
