USAID

गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने राष्ट्रिय जनमोर्चाको निर्णय


काठमाडौं । राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेश सरकारलाई दिँदै आएको समर्थन फिर्ता लिएको छ । बुधबार जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रेस विज्ञप्ति जारी गरी प्रदेश सरकारलाई दिइएको समर्थन फिर्ता लिइएको घोषणा गरेका हुन् ।

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध आउने अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने समेत जनमोर्चाले स्पष्ट पारेको छ । केपी ओली नेतृत्वको सरकारलाई दिँदै आएको समर्थन फिर्ता लिए पनि जनमोर्चाले गण्डकी प्रदेश सरकारको समर्थन भने फिर्ता लिएको थिएन ।

गण्डकी प्रदेशमा राष्ट्रिय जनमोर्चासँग तीन सांसद छन् । उसले समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ नेतृत्वको सरकार धरापमा परेको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘केन्द्रमा हामीले ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिए पनि प्रदेशहरूमा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) मिलेर बनेका सरकारहरूलाई समर्थन कायमै राखेका थियौँ । त्यसको अर्थ हामीले वामपन्थीको सरकारमा जोड दिएका हौँ । गण्डकी प्रदेश सरकारबाट नेकपा (माओवादी केन्द्र) अलग भएको स्थितिमा त्यहाँ ओली पक्षको मात्र सरकार हुन्छ । गण्डकी प्रदेश सरकारले ओलीको पक्षमा काम गरिरहेको छ । त्यसका क्रियाकलापहरुले प्रतिगमनलाई मद्दत पुग्छ । त्यसकारण गण्डकी प्रदेश सरकारका विरुद्ध प्रतिपक्षबाट आउने अविश्वासको प्रस्तावलाई हाम्रो समर्थन हुनेछ ।’

केसीले सरकारको समर्थन फिर्ता लिएपनि आफ्नो पार्टी सरकारमा भने सहभागी नहुने बताएका छन् । केन्द्रमा प्रधानमन्त्री केपी ओलीको स्वेच्छाचारी कार्यशैली, जनहित र संसदीय प्रजातान्त्रिक मूल्य–मान्यताका विरुद्धका कार्य तथा आफ्नै पार्टीका निर्णयहरु समेतलाई उल्लंघन गर्ने कार्य र कार्यशैलीको विरोध गर्दै आएको अध्यक्ष केसीले बताएका छन् ।


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *