प्रज्जवल थापा । बहुचर्चित ‘एल क्लासिको’ मा रियल म्याड्रिड विजयी भएको छ । स्पेनिस लिग ला लिगा अन्तर्गत शनिबार राति भएको खेलमा १० खेलाडीमा रहेर खेलको अन्त्य गरेको रियल म्याड्रिडले बार्सिलोनालाई २-१ गोल अन्तरले पराजित गरेको हो ।
अल्फ्रेडो डि स्टेफेनोमा भएको खेलमा रियल म्याड्रिडलाई जित दिलाउन करिम बेन्जिमा र टोनी क्रुसले एक/एक गरे । बार्सिलोनाको लागि ओस्कार मिन्गुएजाले गरेको गोल सान्त्वनामा सिमित रह्यो । पहिलो हाफको १३ औं मिनेटमा लुकासको पासमा करिम बेन्जिमाले गोल गर्दै म्याड्रिडलाई खेलमा अगाडि बढाएका थिए । २८ औं मिनेटमा टोनी क्रुसले फ्रिकिकमा सुन्दर गोल गर्दै रियल म्याड्रिको अग्रता दोब्बर बनाए ।

बार्सिलोनाले दोस्रो हाफमा सुधारिएको प्रदर्शन गरेपनि हार टार्न सकेन । खेलको ६० औं मिनेटमा जोर्डी अल्बाको पासमा मिन्गुएजाले गोल गर्दै बार्सिलोनालाई २-१ गोलको स्थितिमा ल्याएका थिए । केसिमिरोले एक मिनेटको अन्तरालमा दुई पहेँलो कार्ड खाँदै मैदान बाहिरिएपछि म्याड्रिडले १० खेलमा रहेर खेलको अन्त्य गरेको थियो । बाँकी समयमा दुवै टोलीबाट थप गोल नहुदाँ रियल म्याड्रिड २-१ गोलले विजयी भएको हो ।
जितसँगै रियल म्याड्रिड ३० खेलमा ६६ अङ्क जोड्दै लिगको शिर्ष स्थानमा उक्लिएको छ । एक खेल कम खेल्दै समान अङ्क जोडेको एथ्लेटिको म्याड्रिड हेड टु हेडमा पछि रहँदै दोस्रो स्थानमा झरेको छ । पराजित बार्सिलोना ३० खेलमा ६५ अङ्कको साथ तेस्रो स्थानमा झरेको छ ।
