प्रज्जवल थापा । १९ औं संस्करणको आहा रारा गोल्डकपको फाइनल खेलमा आज संकटा क्लब र अफ्रिकन रुट्स एसोसिएसन भिड्दै छन् । पोखरा रंगशालामा हुने फाइनल खेल दिउँसो ३ बजे शुरु हुनेछ ।
आज हुने खेलमा दुवै टोली उपाधि जित्ने लक्ष्यसाथ मैदान उत्रिनेछन् । आज गोल्डकपले नयाँ उपाधि विजेतापनि पाउनेछ । दुवै टोली पहिलो पटक फाइनल पुगेका हुन् । दुवै टोलीले मनाङ मर्स्याङ्दी क्लब, थ्रि स्टार क्लब र विभागीय टोली नेपाल पुलिस क्लबको दबदबालाई पन्छाउँदै फाइनलको यात्रा तय गरेका हुन् । १८ औं संस्करणसम्म आउँदा तीन टोली मध्य एक टोली फाइनल पुगेको इतिहास रहेको थियो ।
संकटाले क्वाटरफाइनल खेलमा मनाङ मर्स्याङ्दी क्ल्बलाई १-० गोलले स्तब्ध बनाएको थियो । यस्तै सेमिफाइनल खेलमा विभागीय टोली एपिएफलाई २-० गोलले पराजित गर्दै संकटाले फाइनलको बाटो तय गरेको थियो । यता पहिलो पटक प्रतियोगितामा सहभागिता जनाएको अफ्रिकन रुट्सले क्वाटरफाइनलमा लिग विजेता मछिन्द्र क्लबलाई २-१ गोलले हराएको थियो भने सेमिफाइनल खेलमा नेपाल पुलिस क्लबलाई २-० गोलले पराजित गरेको थियो ।
प्रतियोगिताको विजेताले उपाधिसहित १० लाख १ हजार रुपैयाँ पाउनेछ भने उपविजेता हुने टोलीले ५ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक थान स्कुटर प्राप्त गर्नेछ ।
तस्बिर:- गोल नेपाल डट कम
