एनआरएनको आसन्न निर्वाचनमा लुइटेल र केसीको सम्भावना प्रवल

गणेश थापा, क्यालिफोर्निया । विश्वको सुपर पावर अमेरिका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा सधैंजसो चर्चाको केन्द्रमै रहने गर्छ । त्यसमा पनि विगत एक वर्षयता कोभिड १९ बाट ५ लाख ६० हजार बढी मानवीय क्षतिसँगै संसारकै सवैभन्दा धेरै आर्थिक तथा मानवीय नोक्सानी व्यहोरिरहेको देश संयुक्त राज्य अमेरिका दुनियाँको नजरबाट टाढा रहने कुरै भएन ।

आप्रवासीहरूको देश भनेर चिनिने अमेरिकामा बसोबास गर्ने नेपाली समुदाय भने पछिल्लो समय निकै तातिएको छ । दिन प्रतिदिन नेपालीभाषीहरूको संख्या बढ्दै गइरहेको अमेरिकामा नेपाली समुदायमाझ यसरी गर्मागर्मी हुनुको कारण भने गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) को आसन्न निर्वाचन हो ।

यतिवेला अमेरिकामा रहेका नेपालीहरूबीच एनआरएन अमेरिकाको दुई वर्षे कार्यकालका लागि आगामी महिना हुन गइरहेको चुनावलाई लिएर एकआपसमा प्रतिस्पर्धी वातावरणको सिर्जना भएको छ । संसारकै पुरानो प्रजातान्त्रिक तथा शक्तिशाली राष्ट्र भएकोले पनि एनआरएन अमेरिकाको चुनावलाई निकै चासोका साथ लिने गरिन्छ ।

यसै शिलसिलामा एनआरएन अमेरिकाको आगामी निर्वाचनका लागि यहॅाको नेपाली समुदायमाझ दुई चर्चित अनुहार रामबाबु लुइॅटेल र विष्णु केसीले आफ्नो उम्मेदवारी घोषणा गर्दै चुनावी प्रतिस्पर्धाको मैदानमा उत्रिएका छन् ।

विगत झण्डै एक दशकदेखि अमेरिकाको क्यालिफोर्नियामा बस्दै आएका लुइॅटेल धार्मिक एवम् सामाजिक क्षेत्रमा अत्याधिक रूपमा परिचित र सक्रिय रहँदै आएका व्यक्ति मात्रै होइनन् उनी एक पूर्वप्रहरी अधिकृतसमेत हुन् । काठमाडौँको धापासीमा स्थायी बसोबास रहेका लुइॅटेलले एनआरएन अमेरिकाको क्यालिफोर्निया च्यापटरको कोषाध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरेका छन् ।

अमेरिकाकै सबैभन्दा घेरै जनसंख्या रहेको एवम् वृहत अर्थतन्त्र भएको क्यालिफोर्निया च्यापटरका लागि लुइॅटेलको उम्मेदवारी निकै सशक्त र प्रभावकारी हुने यहाँका जानकारहरू बताउँछन । ‘नेपालीका लागि नेपाली’ भन्ने नारा लिएर अघि बढेका लुइॅटेल आफ्नो जित सुनिश्चित रहेको दावीसमेत गर्छन् ।

यता अमेरिकाका नेपालीहरू बीचमा प्रसस्त मात्रामा लोकप्रियता कमाएका ओखलढुंगाका विष्णु केसीले अनआरएन अमेरिकाको क्यालिफोर्निया च्यापटरका लागि उपाध्यक्ष पदमा आफ्नो दावेदारी पेश गरेपछि यहॅाको चुनावी माहोल निकै तातेको छ । नेपाली समुदायका लागि मरिमेट्ने केसी सामाजिक कार्यमा निकै अग्रसर रहेका व्यक्ति मात्रै होइनन् नेपाल सरकारको सेवामा रहेर लामो अनुभव हासिल गरेका एक पूर्वसरकारी अधिकारी पनि हुन् ।

यहाँका नेपालीहरूको पीरमर्का, समस्या र नेपाली समुदायको हकहितका लागि सधैँ लागिरहने भएकाले पनि अन्य उम्मेदवारभन्दा आफू मजबुत रहेको दलिलका साथ केसीले आगामी निर्वाचनमा आफू विजय हुने ठोकुवा गर्छन् ।

आधिकारिक रूपमा उम्मेदवारी दर्ताका लागि अनआरएन अमेरिका निर्वाचन समितिले आगामी दुई साताको समय तोकेको छ । अनआरएन अमेरिकाको मूल नेतृत्व तथा अन्य विभिन्न राज्यका च्यापटर पदाधिकारीहरूका लागि आआफ्नो तर्फबाट उम्मेदवार पेश गर्नेहरूको संख्या ठूलो छ ।

यता गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) अमेरिकाको आसन्न निर्वाचनका लागि मूल नेतृत्व अध्यक्ष पदमा हालका वरिष्ठ उपाध्यक्ष डा अर्जुन बन्जाडेसहित कृष्ण लामिछाने र बुद्धिसागर सुवेदीले उम्मेदवारी घोषणा गरेका छन् ।

प्रायः उम्मेदवारहरूले आफ्नो प्रतिबद्धता पत्रमा नेपाली समुदायका समस्या, संघको सदस्यता प्रणालीमा नयाँ बिधि, सूचना प्रणाली, गैरआवासीय नेपालीलाई दोहोरो नागरिकता, नेपालीहरुको राजनीतिक फोरम, ग्रुप इन्सुरेन्सजस्ता कुराहरूलाई समेटेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *