काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयश त्रिपाठीले कोरोना संक्रमणका कारण आतंकित हुनुपर्ने अवस्था नरहेको बताएका छन् ।
सोमबारको प्रतिनिधिसभा बैठकमा बोल्दै स्वास्थ्य मन्त्री त्रिपाठीले कोरोना संक्रमणलाई लिएर आतंक सृजना गर्ने काम बन्द गर्न आग्रह गरेका हुन् । उनले नेपालले खोप लगाउन सुरु गरेको र आगामी असार महिनासम्म ६० लाख जनसंख्यालाई खोप लगाउने सरकारको योजना रहेको बताए । उनले आमनागरिकलाई खोप लगाएपनि स्वास्थ्य सुरक्षाका मापदण्ड भने पालना गर्न आग्रह गरे ।
उनले गतवर्षको जेठको पहिलो सातोदखि असारको दोस्रो साता उच्च बिन्दुमा पुगेर साउनको पहिलो सातामा न्यून अवस्थामा पुगेको भन्दै त्यसपछि पुनः बढ्दै संक्रमण कात्तिकको दोस्रो साता उच्च बिन्दुमा पुगेको स्मरण गरे । उनले अबको दिनमा जनस्वास्थ्यको मापदण्डलाई प्रभावकारी बनाउन नसकिए संक्रमण बढ्दै जेठ–असारमा अर्को उच्च बिन्दुमा पुग्न सक्ने बताए ।
छिमेकी देश भारतमा संक्रमित बढ्दै गएको बताउँदै उनले आवागमनलाई व्यवस्थित गर्दै क्वारेन्टिन र आइसोलेनका साथै जनस्वास्थ्यका मापदण्डलाई कडाइ गरिनुपर्नेमा जोड दिए । मन्त्री त्रिपाठीले कोरोना संक्रमण नियन्त्रणक लागि भएको खर्चको श्वेत पत्र जारी गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।
