हामी आधिकारिक हौं, ओलीको कारबाही गर्ने हैसियत छैनः माधव नेपाल

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफूहरु रहेको पार्टी मूल पार्टी भएको बताएका छन् । आइतबार काठमाडौंमा आयोजित काठमाडौं जिल्लास्तरीय भेलालाई सम्बोधन गर्दै वरिष्ठ नेता नेपालले आफूहरु आधिकरिक एमाले भएको बताएका हुन् ।

वाग्मती प्रदेश इन्चार्ज तथा दुई दुई जना वरिष्ठ नेता आफूहरुसँग रहेको भन्दै नेपालले आफूहरुको पार्टी नै आधिकारीक भएको बताएका हुन् । उनले भने, ‘वाग्मती प्रदेश इन्चार्ज अष्टलक्ष्मी शाक्य हुनुहुन्छ। वरिष्ठ नेता हरु दुवैजना यहीँ छन् । छुटेकाहरूलाई पनि हामी विस्तारै तान्ने छौँ ।पार्टी नेतृत्व गर्ने व्यक्ति हामी नै हौँ।’ उनले प्रधानमन्त्री केपी शर्मा ओली दलाल पूँजीवादको साथमा रहेको आरोप लगाए ।

उनले आफूहरु केपी ओलीले कारबाही गरेर कारबाहीमा नपर्ने बताए । उनले भने,‘हामी केपी ओलीले फालेर फालिने मान्छे होइनौं । कसैले प्रधानमन्त्रीको फूर्ति लाउँछ भने त्यसको काम छैन, कसैले संख्यात्मक कुरा गर्छ भने हामी संगठनको हिसाबले कमजोर छैनौं ।’ उनले प्रधानमन्त्री ओलीले नवौं महाधिवेशनमा जालझेल गरेर जितेको भन्दै फूर्ति नलगाउन चेतावनी दिए । पार्टीको नवौं महाधिवेशनबाट निर्वाचित सबै कमिटीमा आफूहरुको बहुमत रहेको बताए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *