नेपालगञ्ज । बाँके को नरैनापुर गाउँपालिका–४, खोदावा गाउँमा शनिबार दिउँसो आगलागी हुँदा सय घर जलेका छन् । आगलागीबाट दुई कराेड रुपियाँभन्दा बढीको जिन्सी तथा खाद्य सामग्रीको क्षति भएको बाँके का प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले जानकारी दिए ।
आगलागीबाट तीन जना घाइते भएको पनि उनले बताए । हावाहुरीको मौसम भएका कारण स्थानीय एक जनाको घरमा खाजा बनाउने क्रममा सल्किएको आगोले पूरै गाउँ खरानी बनाएको उनले बताएका छन् ।
आगो लागेको चार घण्टापछि पाँचवटा दमकल र प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीयको प्रयासमा आगो नियन्त्रणमा आएको बाँकेका प्रहरी प्रवक्ता डीएसपी सुवास खड्काले बताए । गत फागुन २४ गते र चैतको पहिलो सातामा पनि नरैनापुरमा आगलागी हुँदा ४० घर जलेकाे समाचार गाेरखापत्र दैनिकमा छापिएकाे छ ।
