सरकारको नेतृत्व लिने कांग्रेसको निर्णय, प्रधानमन्त्रीको राजीनामा माग

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्दै आगामी सरकारको नेतृत्व लिने निर्णय गरेको छ ।

पार्टी कार्यालय सानेपामा शुक्रबार साँझ बसेको केन्द्रीय कार्यसमिति बैठकले सरकारको नेतृत्व दाबी गर्दै प्रधानमन्त्री ओलीको राजीनामा माग गर्ने निर्णय गरेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

गतवर्ष वैशाखमै सरकारले शासन गर्ने नैतिक र राजनीतिक आधार गुमाइसेकेको ठहर गरेको कांग्रेसले प्रधानमन्त्रीको राजीनामा नमागेको तर अब पनि जनविरोधी काम जारी राखेकाले राजीनामा माग गरेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । उनले भने, ‘सरकारले जनविरोधी क्रियाकलाप जारी राखेर जननिर्वाचित संसदलाई विघटन गर्यो । यत्रो घटना भइसक्यो । सर्वोच्चले प्रधानमन्त्रीको कदम असंवैधानिक भन्दै संसद पुनःस्थापना गरेको पनि एक महिना भइसक्दासमेत पदत्याग नगरेको बैठकले राजीनामा माग गर्ने निर्णय गरेको हो ।’

प्रवक्ता शर्माले माओवादी केन्द्र र जसपालाई पार्टीमा निर्णय गरेर आउन आग्रह गरे । प्रतिनिधिसभा पुनःस्थापना भइसकेपछि लामो समय मौन बसेको कांग्रेसले अहिले सरकारमा दाबी गर्ने निर्णय लिएको हो ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले असंवैधानिक र अलोकतान्त्रिक कदम चाल्ने ओलीको विस्थापनका लागि छिटो निर्णय लिन कांग्रेस सभापति शेरबहादुर देउवालाई पटक–पटक भेटेर आग्रह गर्दै आएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *