तेस्रो इन्ट्रा म्याड्रिडष्टा फूटसलको सम्पूर्ण तयारी पूरा

प्रज्जवल थापा । स्पेनिस क्लब रियल म्याड्रिडको आधिकारिक फेन क्लब रियल म्याड्रिड फेन क्लब नेपाल-पोखराको आयोजनामा हुन लागेको तेस्रो इन्ट्रा म्याड्रिडष्टा फुटसल प्रतियोगिताको सम्पूर्ण तयारी सकिएको छ ।

भोलि चैत २१ गते शनिबार पोखराको विन्दवासिनीस्थित टुटिसाल फूटसलमा हुने प्रतियोगिताको सम्पुर्ण तयारी सकिएको आयोजक पोखरा विङ्सका सचिव वसन्त गौतमले नेपाल समाजलाई बताए । उनले भने, “प्रतियोगिताको सम्पुर्ण तयारी सकिएको छ । प्रतियोगिता भव्य हुनेमा हामी सबै विश्वस्त छौ ।”

गौतमले पोखरामा रहेका सम्पुर्ण खेलकुद प्रेमीलाई खेलस्थलमा आएर मनोरञ्जन लिनपनि आग्रह गरे । उनले भने, ” पोखरा उपत्यकाभरि छरिएर बस्नुभएका सम्पुर्ण खेलकुद प्रेमीहरुलाई खेल स्थलमा आएर मनोरञ्जन लिन निमन्त्रणा गर्न चाहन्छु । यस्तै खेल स्थलमा उपस्थित हुन नसक्नुहुने समर्थकले फेसबुकमार्फत लाइव हेर्न सक्नुहुनेछ ।” प्रत्यक्ष प्रशारण रियल म्याड्रिड फेन क्लब नेपाल र नेपाल समाजको आधिकारिक फेसबुक पेजबाट संयुक्त रुपमा हुनेछ ।

देशभरि छरिएर बसेका रियल म्याड्रिड समर्थकहरुको लागि भेटघाट गर्ने यो राम्रो अवसर रहेको रिजनल हेड मदन लम्सालले जनाए । उनले भने, ” हाम्रो लक्ष्य भनेको देशभरि छरिएर बसेका म्याड्रिड समर्थकलाई एक गराउने हो । यस्तो प्रतियोगिता आयोजना गर्दा टाढा भएका व्यक्तिहरुसँगपनि एकआपसमा चिनजान, आत्मियता बढ्ने गर्छ ।”

लम्सालले थपे, “विश्वभरी फैलिएको कोरोना भाईरस महामारीले गर्दापनि प्रतियोगिता आयोजनामा थप चुनौती थपिएको थियो । तर सबैको साथ सहयोगले गर्दा प्रतियोगिताको तयारी सकेका छौ र प्रतियोगिता सफल हुनेमा हामी विश्वस्तपनि छौ ।”

 

प्रतियोगितामा १२ टिमको सहभागिता रहनेछ । सहभागि टोलीमध्य चार टिम फेन क्लबकै विङ्स रहेका छन् । उपत्यका बाहिरका काठमाडौं विङ्स, नुवाकोट विङ्स, चितवन विङ्स र हेटौंडा विङ्स आज(शुक्रबार) पोखरा आउने कार्यक्रम रहेको छ । अन्य टिमहरुमा रोयल ह्वाइन्ट्स, टिम जिदान, टिम रोमस, टिम राहुल, टिम बेर्नाबेउ, बिबिसी क्लब, टिम अब्बु म्याड्रिडष्टा र टिम क्यासिलस रहेका छन् ।

सहभागी टिमलाई ४ समुहमा विभाजन गरिनेछ । सबै समुह सिङ्गल राउण्ड रोविनको आधारमा हुनेछ । चारै समुहको शिर्ष दुई स्थानमा रहने टोली क्वाटरफाइनलमा प्रवेश गर्नेछन् । प्रतियोगिताको विजेता र उपविजेताले जर्सी, मेडल, ट्रफी र प्रमाणपत्र पाउनेछ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *