अदालतको आदेश पहिलेको आदेश झैं राजनीतिक कदमकै निरन्तरताको अर्को कडीः नारायणकाजी श्रेष्ठ

काठमाडौं । नेकपा माओवादी केन्द्रले सर्वोच्च अदालतको आजको आदेश पहिलेको आदेशझैं राजनीतिक कदमकै निरन्तरताको अर्को कडी भएको बताएको छ ।

नेकपा एमाले र माओवादी केन्द्रको एकता भत्काउने निर्णयविरुद्ध दिएको पुनरावलोकन नगर्ने फैसला त्यसकै कडी भएको माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले बताएका हुन् ।

उनले सामाजिक संजालमार्फत अदालतले देशको समग्र परिवर्तन र राजनीतिकलाई गलत दिशामा धकेल्न खोजेको बताएका छन् ।

उनले लेखेका छन्, ‘सर्वोच्च अदालतले २०७७।११।२३ मा हाम्रो पार्टीको सम्बन्धमा गरेको आदेशको पुनरावलोकन नगर्ने भनी आज गरेको निर्णय पहिलेको आदेश झैं राजनीतिक कदमकै निरन्तरताको अर्को कडी हो।यो गलत निर्णयप्रति हाम्रो तिब्र असहमति छ । अदालतले देशको समग्र परिवर्तन र राजनीतिलाई गलत दिशामा धकेल्न खोज्दैछ । जागौं।’

बिहीबार सर्वाेच्च अदालतले नेकपाको नाम सम्बन्धी विवादमा गरेका फैसला पुनरावलोकन नहुने आदेश दिएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीशहरु तेजबहादुर केसी र प्रकाशकुमार ढुंगानाको इजलासले पुनरावलोकन नगर्ने आदेश दिएको हो ।

यसअघि गत फागुन २३ गते ऋषिराम कट्टेलले दिएको रिटमा न्यायाधीश बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले निर्वाचन आयोगमा नेकपा नामको दल पहिलेनै दर्ता रहेको र सोही नाममा अर्को पार्टी दर्ता हुन नसक्ने भन्दै नेकपा एमाले र माओवादी केन्द्र अलग अलग हैसियतमा रहने निर्णय सुनाएको थियो ।

उक्त फैसला पुनरावलोकनको माग गर्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मंगलबार सर्वोच्च अदालतमा निवेदन दिएका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *