बुटवल । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी तथा नेपाल प्रहरी र सशस्त्र प्रहरी प्रमुखको सरुवा गरिएको छ । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी पिताम्वर घिमिरेको जिल्ला प्रशासन कार्यालय पर्सा सरुवा भएको छ भने पर्साका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङ रुपन्देही खटाइएका छन् । घिमिरे रुपन्देही आएको ६ महिना पुरा नहुँदै सरुवा भएका छन् ।
त्यसैगरी रुपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक प्रवीण पोखरेल रुपन्देही आएको ६ महिना नपुग्दै सरुवा भएका छन् । उनको ठाउँमा प्रहरी उपरीक्षक मनोज कुमार केसीलाई ल्याइएको छ ।
यसका साथै शसस्त्र प्रहरी सीमा सुरक्षा कार्यालयका सशस्त्र प्रहरी उपरीक्षक भरत खनियालाई समेत हटाइएको छ । फागुन २१ गते बुटवलको रानीगन्जमा मोतिपूर औद्योगिक क्षेत्रको शिलान्यासमा स्थानीयको विरोधपछि बिथोलिएको र अर्थमन्त्री विष्णु पौडेल भाग्नु परेको घटनालाई लिएर अर्थमन्त्रीको दवावमा प्रमुख जिल्ला अधिकारी र सुरक्षा प्रमुखहरुको सरुवा गरिएको बताइएको छ। स्थानीयले ढुंगामुढा गरेपछि अर्थमन्त्री पौडेल बोल्दाबोल्दै मञ्च छाडेर भागेका थिए ।
