प्रज्जवल थापा । पाकिस्तान राष्ट्रिय महिला फूटबल च्याम्पियनसिप अन्तर्गत आज हुने पहिलो क्वाटरफाइनल खेलमा नेपाली खेलाडी सम्मीलित मासा युनाइटेड र दिया वुमेन्स फूटबल क्लब भिड्दै छन् । खेल नेपाली समय अनुसार दिउँसो १:४५ बजे शुरु हुनेछ ।
नेपाली राष्ट्रिय महिला फूटबल टोलीकी गोलरक्षक एन्जिला तुम्बापो सुब्बाको कप्तानीमा मैदान उत्रिने मासा आजको खेल जित्दै सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गर्न चाहन्छ । मासालाई क्वाटरफाइनल पुर्याउन नेपाली खेलाडीले मुख्य भुमिका खेलेका थिए । नेपाली खेलाडी अनिता केसीले प्रतियोगितामा २४ गोल गर्दा शरु लिम्बुले २२ गोल गरेकी छिन् । यस्तै गिता रानाको नाममा तीन र गोलरक्षक एन्जिला तुम्बापो सुब्बाको नाममा दुई गोल रहेको छ ।
समूह ‘बी’ मा रहेको मासा युनाइटेड समूह चरणको खेलमा अपराजित रहेको थियो । मासाले ४ खेलमा ३ जित र १ हारको नतिजा निकाल्दै १० अङ्ककोसाथ शिर्ष स्थानमा रहेर क्वाटरफाइनलको बाटो तय गरेको थियो । यता समूह ‘डी’ मा रहेको दिया समुहको दोस्रो स्थानमा रहँदै क्वाटरफाइनल प्रवेश गरेको हो । दियाले समुहको ४ खेलमा ३ जित र १ हारको नतिजा निकालेको थियो ।
