वायु प्रदुषणका कारण चार दिन देशभरका विद्यालय बन्द गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले मंगलबारदेखि देशभरका शिक्षण संस्था चार दिन बन्द गर्ने निर्णय गरेको छ । सोमबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा बसेको आकस्मिक बैठकले वायु प्रदुषण बढेकाले सम्पूर्ण शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको हो । अब मंगलबारदेखि शुक्रबारसम्म सबै शिक्षण संस्था बन्द हुनेछन् ।

बैठकमा मन्त्री श्रेष्ठले वायुमण्डलमा देखिएको मौसम प्रतिकूलताको कारण शिक्षण संस्था बन्द गर्नुपरेको जानकारी दिए । बैठकमा शिक्षा सचिव रामप्रसाद थपलिया, विज्ञान सचिव डा. सञ्जय शर्मा, मन्त्रालयका प्रवक्ता एवं सहसचिव दीपक शर्मा, सहसचिव डा. हरी लम्साल, शिक्षा, तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक वैकुष्ठ अर्याल लगायतको उपस्थिति रहेको थियो ।

यसअघि आजै बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले वायु प्रदुषण बढेकाले केही दिनका लागि विद्यालय बन्द गर्ने बताएका थिए । केही दिनदेखि वायु प्रदुषणका कारण काठमाडौं उपत्यकालगायत देशभर बाक्लो तुँवालो लागेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *