४० विद्युतीय बस खरीद गर्दै साझा

काठमाडौं । साझा यातायातले विद्युतीय बस खरीदका लागि बोलपत्र आह्वान गरेको छ । सरकारले ३०० विद्युतीय बस खरीदको जिम्मेवारी पुनः साझालाई नै प्रदान गरेपछि साझाले खरीद प्रक्रिया अघि बढाएको हो । कम्पनीले पहिलो चरणमा ४० वटा विद्युतीय बस खरीदका लागि बोलपत्र आह्वान गरेको छ ।

सरकारले २०७५ पुसमा ३०० विद्युतीय बस खरीद गर्ने निर्णय गरी २०७६ वैशाख १ गतेभित्र काठमाडौं उपत्यकामा सञ्चालन गरिसक्ने बताएको थियो । तर २०७६ साउन १ गते मात्र बस खरीदको जिम्मेवारी सरकारी स्वामित्वमा रहेको साझा यातायातलाई दिइएकोमा ३ महीना नबित्दै सरकारले बस खरिद गर्न नसकेको भन्दै साझाबाट रकम फिर्ता लिएको थियो । सरकारले आफै बस खरीद गर्ने भन्दै रकम फिर्ता लगेको डेढ वर्षसम्म पनि खरीद गर्न नसकेपछि माघ गत अन्तिम साता मन्त्रिपरिषद्को निर्णयमार्फत बस खरीदको जिम्मेवारी पुनः साझालाई नै दिने निर्णय गरेको समाचार आजको आर्थिक अभियान दैनिकमा छापिएको छ ।

उक्त समय बीचमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बसको न्यूनतम मापदण्ड बनाएर साझालाई दिएको थियो । ‘हामीले पहिले पनि बसको बारेमा अध्ययन गरेका थियौं, त्यसअनुसार तयारीमै थियौं,’ साझा यातायातका अध्यक्ष कनकमणि दीक्षितले भने, ‘सरकारले पुनः जिम्मेवारी दिएपछि पहिलो चरणमा ४० ओटा विद्युतीय बस खरीदका लागि बोलपत्र आह्वान गरेका हौं ।’

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *