प्रज्जवल थापा । थ्री नेसन्स कप फूटबल प्रतियोगिताको उपाधिको लागि आज घरेलु टोली नेपाल र बंगलादेश भिड्दै छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेल बेलुकी ५:३० बजे शुरु हुनेछ । उपाधि जित्ने टोलीले ५ हजार अमेरिकी डलर प्राप्त गर्नेछ ।
आजको खेलमा दुवै टोली उपाधि जित्ने लक्ष्यसाथ मैदान उत्रिनेछन् । आइतबार भएको प्रि म्याच कन्फ्रेन्समा दुवै टोलीले उपाधि जित्ने लक्ष्यसाथ मैदान उत्रिने बताएका छन् । नेपालको आजको लक्ष्य आफ्नो गोलको खडेरी टोड्दै उपाधि जित्ने रहेको छ । नेपालले आफ्नो पछिल्लो ७ अन्तराष्ट्रिय खेलमा गोल गर्न सकेको छैन ।
समुहको पहिलो खेलमा किर्गिस्तान यु-२३ सँग गोलरहित बराबरी खेलेको नेपालले दोस्रो खेलमापनि बंगलादेशविरुद्ध ०-० गोलको बराबरी खेलेको थियो । नेपालले २ खेलमा दुई अङ्क जोड्दै फाइनलको बाटो तय गरेको थियो । प्रतियोगिताको तीन खेलमा मात्र एक गोल भएको छ । उक्त गोलपनि किर्गिस्तानका खेलाडीले आत्मघाती गोल गरेका थिए ।
यता बंगलादेशका प्रशिक्षक जेम्स डेलेले आजको खेल प्रतिस्पर्धात्मक हुने बताउदै आफ्नो टिम उपाधि जित्नको लागि सक्षम रहेको जनाए । बंगलादेशले प्रतियोगिताको उद्धाटन खेलमा किर्गिस्तानलाई १-० गोल अन्तरले पराजित गरेको थियो भने दोस्रो खेलमा नेपालसँग गोलरहित बराबरी खेलेको थियो । बंगलादेश २ खेलमा ४ अङ्क जोड्दै समुहको शिर्ष स्थानमा रहेर फाइनल प्रवेश गरेको थियो ।
नेपाल र बंगलादेशबिच भएको पछिल्लो २२ भेटमा बंगलादेशले १३ खेल आफ्नो पोल्टामा पारेको छ । नेपालले ६ खेल जित्दा ३ खेल बराबरीमा सकिएको थियो ।
तस्बिर:- एन्फा
