काठमाडौं । सहायता सामग्री लिन राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी ३३० जहाज आइतबार साँझ चीनको राजधानी बेइजिङ उडेको छ ।
सरकारको निर्णयअनुसार कोभिड–१९ लगायतका अत्यावश्यक स्वास्थ्य सामग्री लिन निगमको जहाज चीनको ‘बेइजिङ क्यापिटल अन्तर्राष्ट्रिय विमानस्थलमा उडान भरेको निगमले जनाएको छ ।
निगमको पूर्वनिर्धारित उडान तालिकाअनुसार साँझ ५ः३० बजे काठमाडौं बाट बेइजिङ प्रस्थान गरेको छ । सोमबार बेइजिङको स्थानीय समयानुसार अपराह्न ४ः३० बजे काठमाडौँका लागि प्रस्थान गर्नेछ । सोही दिन बिहान ८ः३५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जहाज अवतरण गर्नेछ ।
यही चैत १ गतेको मन्त्रिपरिषद्को बैठकले मित्रराष्ट्र चीनबाट प्रदान गरिने कोभिड–१९ विरुद्धको खोप ‘भेरासेल’ लगायत सहायता सामग्री स्वीकार गर्ने निर्णय गरेको थियो । सरकारी निर्णयबमोजिम चीन सरकारले उपलब्ध गराउने वस्तुगत अनुदान स्वीकार गर्ने निर्णय भएअनुरुप आठ लाख मात्र कोभिडविरुद्धको खोपलगायत सहायता सामग्री लिन निगमको जहाज बेइजिङ गएको हो ।
निगमको जहाजले यसअघि पनि नेपालमा कोभिड महामारी उच्च भएका बेला पनि बेजिङ तथा ग्वाङ्जाओबाट स्वास्थ्य सामग्री ल्याएको थियो । निगमले अन्तरराष्ट्रिय गन्तव्यमा दुई थान वाइड बडी ए ३२० जहाज र दुई थान न्यारो बडी ए३३० जहाजमार्फत सात देशका नौ गन्तव्यमा उडान भर्दै आएको छ ।
