प्रज्जवल थापा । थ्री नेसन्स कप अन्तराष्ट्रिय फूटबल प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेपाल किर्गिस्तानसँग बराबरीमा रोकिएको छ । बिहिबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा नेपाल १० खेलाडीमा सिमित किर्गिस्तान यु-२३ सँग गोलरहित बराबरीमा रोकिएको हो ।
घरेलु दर्शकको साथ पाएको नेपालले खेलमा गोल गर्ने दर्जनौं अवसर सिर्जना गरेपनि फिनिसिङमा चुक्दा बराबरीमा रोकिन बाध्य भयो । बराबरीसँगै दुवै टोलीले एक/एक अङ्क बाढेका छन् । नेपाल र किर्गिस्तानले बराबरी खेलेसँगै बंगलादेश एक खेल अगावै फाइनल प्रवेश गरेको छ ।
शनिबार नेपालले आफ्नो दोस्रो खेलमा बंगलादेशको सामना गर्नेछ । उक्त खेलमा हार टारे नेपाल फाइनल प्रवेश गर्नेछ । यस्तै किर्गिस्तानकोपनि फाइनलको बाटो अझै खुल्ला रहेको छ । शनिबार हुने खेलमा नेपाल बंगलादेशसँग एक भन्दा बढी गोल अन्तरले पराजित भएको खण्डमा किर्गिस्तान फाइनल प्रवेश गर्नेछ ।
