प्रज्जवल थापा । नेपाली खेलाडी सम्मीलित मासा युनाइटेड पाकिस्तान राष्ट्रिय महिला फूटबल च्याम्पियनसिपमा बराबरीमा रोकिएको छ । बिहीबार दिउँसो भएको समुहचरणको अन्तिम खेलमा मासा कराँची युनाइटेडसँग २-२ गोलको बराबरीमा रोकिएको हो ।
मासाको लागि शरु लिम्बू र अरिबाले एक/एक गोल गरे । मासाले खेलमा दुई पटक अग्रता लिएपनि जोगाउन नसक्दा बराबरीमा रोकिन बाध्य भयो । पहिलो हाफको ३९ औं मिनेटमा अनिता केसीको पासमा अरिबाले गोल गर्दै मासालाई खेलमा अगाडि बढाएका थिए । दोस्रो हाफको दोस्रो मिनेटमै कराँचीले गोल गर्दै खेलमा फर्किएको थियो ।
५४ औं मिनेटमा शरु लिम्बुले सुन्दर गोल गर्दै मासालाई फेरि खेलमा अग्रता दिलाएकी थिइन् । तर तीन मिनेट बित्न नपाउँदै कराँचीले गोल गर्दै खेलमा बराबरी गरेको हो । बाँकी समयमा थप गोल हुन नसक्दा दुवै टोलीले एक/एक अङ्क बाढे ।
बराबरीसँगै मासा ४ खेलमा १० अङ्क जोड्दै शिर्ष स्थानमा रहेर क्वाटरफाइनल प्रवेश गरेको छ । यस्तै समान खेलबाट समान १० अङ्क जोडेको कराँची गोल अन्तरको आधारमा दोस्रो स्थानमा रहेर अन्तिम ८ मा प्रवेश गरेको छ ।
