चीनमाथि ईयू, अमेरिका र क्यानडाद्वारा प्रतिबन्ध घोषणा

उइगर अल्पसङ्ख्यक समुदायको अधिकार हनन गरेको भन्दै कैयौँ पश्चिमा देशहरूले चिनियाँ अधिकारीहरूमाथि प्रतिबन्ध लगाएका छन् । धेरैजसो मुस्लिम भएको उक्त समुदायका मानिसहरूलाई चीनले शिन्जियाङको पश्चिमोत्तर क्षेत्रमा रहेका शिविरमा थुनामा राखेको छ ।

त्यहाँ उनीहरूलाई यातना दिइएको, श्रममा लगाइएको र यौन दुव्र्यवहार गरेको भन्ने आरोप चीनमाथि लागेको छ । आफूबीच समन्वय गरेर युरोपेली सङ्घ, वेलायत, अमेरिका र क्यानडाले आर्थिक प्रतिबन्धहरू लगाएका हुन् ।

चीनले आफूले दुव्र्यवहार गरेको भन्ने आरोप अस्वीकार गरेको छ। आतङ्कवादसँग जुध्नका लागि ती शिविरहरू पुनः शिक्षाको सुविधाका लागि बनाइएको चीनको दाबी छ । प्रतिक्रियास्वरूप चीनले पनि युरोपेली अधिकारीहरूमाथि प्रतिबन्ध लगाएको छ । युरोपेली सङ्घले सुरुमा प्रतिबन्ध घोषणा गरेपछि चीनले सोमवार त्यसलाई केवल मिथ्या सूचना र असत्यमा आधारित भनेको थियो ।

चीनले १० जनामाथि प्रतिबन्ध लगाउने र युरोपमा रहेका चीनको सार्वभौमसत्ता र स्वार्थकलाई आघात पुर्याउने अनि मिथ्या सूचना फैलाउने चारवटा संस्थालाई पनि प्रतिबन्ध लगाउने जनाएको छ ।

चीनको प्रतिबन्ध लागेका व्यक्तिहरूले कुनै पनि प्रयोजनका लागि चीनमा प्रवेश गर्न पाउनेछैनन् । तर वेलायतका विदेशमन्त्री डोमिनिक राबले उइगरमाथिको व्यवहार मानवअधिकारको डरलाग्दो हनन गर्ने खालको भएको बताएका छन् । युरोपेली सङ्घले सन् १९८९ मा चीनमा प्रजातन्त्र समर्थक प्रदर्शनकारीमाथि सेनाले गोली चलाएयता मानवअधिकार हननको विषयलाई लिएर चीनमाथि प्रतिबन्ध लगाएको थिएन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *