प्रज्जवल थापा । स्पेनिस लिग ला लिगा अन्तर्गत भएको खेलमा बार्सिलोनाले रियल सोसिडाडको पोस्टमा आधादर्जन गोल गरेको छ । गएराति भएको खेलमा बार्सिलोनाले सोसिडाडलाई ६-१ गोल अन्तरले पराजित गरेको हो ।
बार्सिलोनालाई जित दिलाउन लियोनल मेस्सी र सेर्जिनो डेस्टले दुई/दुई गोल गर्दा एन्टोइन ग्रिज्मन र ओसुमाने डेम्बेलेले एक/एक गोल गरे । सोसिडाडको लागि एन्डेर बारेनेटक्सले एक गोल गरे । ३७ औं मिनेटमा एन्टोइन ग्रिज्मनले गोल गर्दै बार्सिलोनालाई खेलमा अग्रता दिलाएका थिए । ४३ औं मिनेटमा मेस्सीको पासमा डेस्टले गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर बनाए ।

५३ औं डेस्टले गोल गरेपछि बार्सिलोना फराकिलो जिततर्फ अगाडि बढेको थियो । ५६ औं मिनेटमा बुस्केटको पासमा मेस्सीले गोल गर्दै पाहुना टोलीलाइ ४-० गोलको अग्रता दिलाए । ७१ औं मिनेटमा मोरिबाको पासमा डेम्बेलेले गोल गर्दै बार्सिलोनालाई खेलमा ५-० गोलले अगाडि बढाएका थिए । ७७ मिनेटमा कार्लोस फर्नान्डेजको पासमा बेरेनेटक्सले गोल गर्दै सोसिडाडलाई ५-१ गोलको स्थितिमा ल्याए । तर ८९ मिनेटमा अल्बाको पासमा मेस्सीले व्यक्तिगत दोस्रो गोल गर्दौ बार्सिलोनालाई ६-१ गोलको फराकिलो जित दिलाए ।
जितसँगै बार्सिलोना २८ खेलमा ६२ अङ्क जोड्दै लिगको दोस्रो स्थानमा उक्लिएको छ ।
