फेरि पनि प्रतिनिधिसभा भंग गरी चुनाव घोषणा गर्ने प्रधानमन्त्रीको धम्की

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले फेरि पनि प्रतिनिधिसभा विघटन गर्ने धम्की दिएका छन् । राष्ट्रपति विद्या भण्डारीले आह्वान गरेको सर्वदलीय बैठकमा प्रधानमन्त्रीले प्रतिनिधिसभा पुनःस्थापित भएपछि पनि सहज रुपमा चल्न नदिने प्रयास भएको भन्दै फेरि पनि प्रतिनिधिसभा विघटन गर्ने धम्की दिएका हुन् ।

उनले सरकार र संसद् चल्न नदिए फेरि पनि प्रतिनिधिसभा विघटन गरेर चुनाव घोषणा गर्ने बताए । प्रधानमन्त्रीले पुस ५ गते गरेको प्रतिनिधिसभा विघटन सही भएको जिकिर गरे । कोभिड–१९ का कारण चाहेर पनि दलहरुसँग भेटघाट गर्न नपाएकाले आज बैठक सर्वदलीय बैठक डाकेको राष्ट्रपतिले बताइन् ।

सर्वदलीय बैठकमा कांग्रेस उपसभापति विमलेन्द्र निधिले सरकारले संसदलाई ‘बिजेनस’ नदिएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्। निधिले संसद्लाई विघटन गर्ने तथा बिजनेस नदिने कार्यप्रति आक्रोश व्यक्त गरेका थिए।

संसदलाई भूमिकाविहीन बनाउने कार्यमा प्रधानमन्त्री केपी शर्मा ओली लागेकोप्रति उनको असन्तुष्टि थियो। प्रधानमन्त्री ओलीप्रति निधि असन्तुष्टि देखिएपछि निधिको प्रतिवादमा प्रधानमन्त्री उत्रेका थिए। संसद् विघटन गर्ने अधिकार प्रधानमन्त्रीलाई भएको उल्लेख गर्दै पुनः प्रतिनिधि सभा भंग गर्न सक्ने चेतावनी दिएका थिए।

बैठकमा सहभागी राप्रपाका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले सरकारको काम कारबाहीबाट जनता निराश भएको बताएका थिए । लोहनीले भने, ‘नेपाली जनताले राजनीतिक स्थिरता गतिशीलताको संयोजनमा अडेको गुणस्तरीय आर्थिक विकासको आशा गरेका थिए । तर जनता यि तीन बुँदाबाट निराश छन् । यसै कारण देशमा गम्भीर राजनीतिक संकट आएको छ । यो संकटको समाधान हाम्रो संविधानको परिधिभित्र रहेर खोज्नु पर्छ ।’

प्रधानमन्त्रीले सबै राजनीतिक दलहरुसँग संवाद र सहमति गरी आफ्नो क्षमता देखाइ संसदमा आफ्नो पक्षमा समर्थन देखाउन सुझाव दिएको लोहनीले जानकारी दिए ।

बैठकमा नेकपा एमालेका वरिष्ठ नेताद्वय माधवकुमार नेपाल, झलनाथ खनाल र उपाध्यक्ष वामदेव गौतम भने उपस्थित भएका थिएनन् । बैठकमा बैठकमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीसहित महासचिव ईश्वर पोखरेल नेताहरु सुवास नेम्वाङ, विष्णु पौडेल र रामबहादुर थापा, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्री शशांक कोइाराला, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नारायणकाजी श्रेष्ठ र देव गुरुङ, जनता समाजवादी पार्टीबाट शीर्ष नेताहरु महन्थ ठाकुर, उपेन्द्र यादव र राजेन्द्र महतो सहभागी थिए । यसैगरी राष्ट्रिय जनमोर्चा अध्यक्ष चित्रबहादुर केसी, राप्रपा अध्यक्ष डा.प्रकाशचन्द्र लोहनी र नेमकिपाका नेता प्रेम सुवाल सहभागी भएका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *