काठमाडौं । नेकपा एमालेको माधव नेपाल पक्षले फरक विचार राख्नेलाई कारबाहीको धम्की नदिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेको छ । ललितपुरमा मंगलबार पत्रकार सम्मेलन गरी नेपाल पक्षले आफूहरु पार्टी एकताको पक्षमा अडिग रहेको बताएको हो ।
पत्रकार सम्मेलनमा नेता योगेश भट्टराईले प्रधानमन्त्री ओलीलाई भेला नेकपा एमालेको भएको भएको त्यसमा सहभागी भएर प्रमुख आतिथ्यता जनाउन आग्रह गरे ।
उनले देशभरिबाट आउने तपाईकै कार्यकर्ता भएको भन्दै आवेग र उत्तेजनामा नआउन आग्रह गरे । भट्टराईले भने, ‘यो भेला पनि तपाईँकै हो । बरू तपाई नै प्रमुख अतिथि भएर भेलाको उद्घाटन गर्नुहोस् कसैलाई खटाउनुनै पर्दैन। आफैं आउनुहोस्।’
पत्रकार सम्मेलनमा भेलामा भेलामा दुई हजारभन्दा बढी अगुवा कार्यकर्ता सहभागी हुने जानकारी नेपाल पक्षले दिएको छ । भेलामा पार्टी केन्द्रीय कमिटी, केन्द्रीय निकाय र केन्द्रीय विभागका सदस्यहरु, प्रदेश कमिटीका सदस्यहरु, केन्द्रीय कमिटीका पूर्वसदस्यहरु, संघ तथा प्रदेशका सांसदहरु, पूर्वसांसदहरु, जिल्ला कमिटीका पदाधिकारीहरु, सम्पर्क कमिटी र मञ्चका सदस्यहरु, गाउँ तथा नगर कमिटीका अध्यक्ष र सचिवहरु, जिल्ला समन्वय समिति, नगरपालिका र गाउँपालिका प्रमुख तथा उपप्रमुखहरु, जनसंगठन तथा पेशागत संगठनका केन्द्रीय सचिवालयका सदस्यहरुका साथै प्रदेश तथा जिल्ला कमिटीका पदाधिकारीहरुको सहभागिता रहने बताइएको छ ।
सोमबार ओलीसँग भएको वार्तामा फागुन २८ गतेको निर्णय बदर गर्न ओली असहमत भएपछि नेपाल पक्षले भेला यथावत गर्ने निर्णय गरेको हो । आज बालुवाटारमा प्रधाानमन्त्री ओलीले आयोजना गरेको चियापान कार्यक्रम पनि ओली र वामदेव गौतम पक्षले बहिष्कार गरेको थियो ।


