काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र एमाले वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता हुने भएको छ । उनीहरूबीच बिहान ११ बजे पार्टी कार्यालय धुम्बाराहीमा भेट हुन लागेको छ ।
सर्वोच्च अदालतले नेकपा खारेज गर्दै एमाले ब्युँताइदिएपछि ओली र नेपालबीच भेटवार्ता हुन सकेको थिएन । ओली पक्षले निर्वाचित कमिटीहरू भंग गर्दै महाधिवेशनको मिति समेत तोकेपछि दुई पक्षबीच तिक्तता निकै बढेको थियो ।
स्रोतका अनुसार भेटमा दोस्रो तहका केही नेता पनि सहभागी हुनेछन् । नेता नेपालले आफूले एक्लै नभेट्ने भन्दै दोस्रो तहका नेता लिएर आउने बताएका छन् ।
एमालेभित्र विवाद बढेपछि दुबै पक्षका केही नेताहरूले प्रधानमन्त्री ओली र नेपालबीच संवाद गराउन प्रयत्न गरिरहेका थिए। त्यही प्रयत्नको फलस्वरूप आज उनीहरूबीच भेट हुने भएको हो । नेता नेपालले बालुवाटारमा नआउने बताएपछि भेट धुम्बाराहीमा हुन लागेको हो ।
