प्रज्जवल थापा । भारत र इङ्ल्याण्डबिचको दोस्रो टि-२० खेलमा भारत विजयी भएको छ । आइतबार राति भएको खेलमा भारतले इङ्ल्याण्डलाई ७ विकेटले पराजित गरेको हो ।
यससँगै ५ खेलको सिरिजमा भारतले १-१ बराबरी गरेको छ । अहमदाबादमा भएको खेलमा १६५ रनको विजयी लक्ष्य पछ्याएको भारतले १७.५ ओभरमा ३ विकेट गुमाउँदै १६६ रन बनाएर लक्ष्य भेट्टायो । भारतको लागि युवा ब्याट्सम्यान तथा डेब्यु खेल खेलेका इसान किशान र कप्तान विराट कोहलीले अर्धसतक पूरा गरे । ओपनर केएल राहुललाई शून्य रनमा गुमाएको भारतको इनिङ्स इसान र विराटले समालेका थिए ।

इसान ३२ बलमा ५ चौका र ४ छक्काको मद्दतमा ५६ रन प्रहार गर्दै अदिल रसिदको बलमा एलबिडब्लु आउट भए । त्यसपछि ब्याटिङ गर्न आएका ऋशव पन्त २६ रनमा पभिलियन फर्किए । उनले १३ बलमा २ चौका र २ छक्का प्रहार गरे । यस्तै कप्तान विराट कोहलीले ४९ बलमा ५ चौका र ३ छक्काको मद्दतमा ७३ रन जोड्दा श्रेयस आएर ८ रनमा नटआउट रहे ।
इङ्ल्याण्डको लागि साम कुरान, क्रिस जोर्डान र अदिल रसिदले एक/एक विकेट लिए ।

यसअघि नरेन्द मोदि रंगशालामा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको इङ्ल्याण्डले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १६४ रन जोडेको थियो । इङ्ल्याण्डको लागि जेसन रोएले सार्वधिक ४६ रन जोडे । यस्तै इयोन मोर्गानले २८, बेन स्टोक्स र डेविड मालनले समान २४/२४ रन जोड्दा जोनि बैर्स्ट्रोले २० रनको योगदान गरे ।

भारतको लागि वासिङ्टन सुन्दर र सार्धुल ठाकुरले समान ४ ओभर बलिङ गर्दै २९ रन खर्चेर २/२ विकेट लिए । भुवेश्वर कुमार र युज्वेन्द्र चहालको नाममा एक/एक विकेट रह्यो । दुई टोलीबिचको तेस्रो टि-२० खेल मंगलबार हुनेछ ।
