रोनाल्डोको ह्याट्रिकमा युभेन्टसको सहज जित

प्रज्जवल थापा । पोर्चुगिज स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले ह्याट्रिक गरेको खेलमा युभेन्टसले सहज जित निकालेको छ । आइतबार राति सिरी ए अन्तर्गत भएको खेलमा युभेन्टसले काग्लियरीलाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।

सार्डेडेग्ना एरिनामा भएको खेलमा युभेन्टसलाई जित दिलाउन क्रिस्टियानो रोनाल्डोले खेलजीवनको ५७ औं ह्याट्रिक पूरा गरे । काग्लियरीको लागि गिओभान्नी सिमेओनीले गरेको गोल सान्त्वनामा सिमित रह्यो । युभेन्टसले तिनै गोल पहिलो हाफमा गरेको थियो । खेलको दसौं मिनेटमा कौड्राडोको पासमा रोनाल्डोले गोल गर्दै युभेन्टसलाई शुरुवाती अग्रता दिलाएका थिए ।

खेलको २५ औं मिनेटमा रोनाल्डोले पेनाल्टीमा व्यक्तिगत दोस्रो गोल गर्दै युभेन्टसको अग्रता दोब्बर बनाए । विपक्षी खेलाडीले रोनाल्डोलाई पेनाल्टी क्षेत्रमा लडाएपछि पाएको पेनाल्टीमा रोनाल्डोले गोल गर्न कुनै गल्ती गरेनन् । यस्तै ३२ औं मिनेटमा चिएसाको पासमा रोनाल्डोले गोल गर्दै ह्याट्रिक पूरा गरे । युभेन्टसको जर्सीमा रोनाल्डोको यो तेस्रो ह्याट्रिक हो ।

दोस्रो हाफको ६१ औं मिनेटमा गाब्रियले जाप्पाको पासमा सिमेओनीले गोल गर्दै काग्लियरीलाई खेलमा फर्काउने प्रयास गरेका थिए । तर बाँकी समयमा थप गोल गर्न नसक्दा युभेन्टसले ३-१ गोलको सहज जित निकाल्यो । जितसँगै युभेन्टस २६ खेलमा ५५ अङ्क जोड्दै लिगको तेस्रो स्थानमा रहेको छ । शिर्ष स्थानमा रहेको इन्टर मिलानको २७ खेलमा ६५ अङ्क रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *