पोखरा । सरकारी तथा गैरसरकारी डेरी उद्योगहरूले चार महिनादेखि दूध किसानको बक्यौता रकम दिएका छैनन् । औपचारिक तथा अनौपचारिक क्षेत्रको उद्योगीहरूबाट किसानले पाउन पर्ने करिब एक अर्ब रुपियाँ बक्यौता रहेको केन्द्रीय दुग्ध सहकारी सङ्घका अध्यक्ष नारायण देवकोटाले जानकारी दिएका छन् ।
दूध उत्पादनको क्षेत्रमा करिब पाँच लाख किसान आबद्ध छन् । उनीहरूले दैनिक सात लाख लिटरभन्दा बढी दूध उत्पादन गरिरहेका छन् । ती सबै दूध डेरी उद्योगीहरूले सहकारीमार्फत वा सीधै किसानबाट खरिद गर्छन् । विगत चार महिना किसानले भुक्तानी पाउन नपाएको गुनासो गरेका छन ।
अध्यक्ष देवकोटाले भने, ‘दूध बेचेर नै गुजारा गर्ने किसानले महिनौसम्म भुक्तानी नपाउँदा निकै समस्या छन् । बैङकको ऋण तिर्न र गाई गोरुका लागि दाना खरिद गर्न सकिरहेका छैनन् ।’
गण्डकी प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव सबनव सिवाकोटीले पनि डेरी उद्योगीले किसानलाई भुक्तानी नदिएकाले गुनासो बढेको बताए । अधिकांश ठाउँका किसानले गण्डकी प्रदेश सरकारसमक्ष दूध बिक्रीबापतको भुक्तानी पाउन नसकेको गुनासो गरेका छन् । उनले भने, ‘दूध किसानले पनि उखु किसानको जस्तो नियति भोग्न नपारोस ।’
डेरी उद्योगीहरू किसानबाट आफूहरूले दूध खरिद गरे पनि कोरोनाका कारण त्यो बिक्री नभएका कारण समस्या उत्पन्न भएको बताउँछन् । नेपाल डेरी एसोसिएसनका अध्यक्ष राधाकृष्ण सापकोटाले कोरोनाको महामारीमा पनि आफूहरूले किसानको दूध खरिद गरेको तर त्यो बिक्री नहुँदा धुलो र बटर बनाएर भण्डार गरेको बताए ।
भण्डार गरिएको धुलो दूध र नौनी बिक्री नहुँदा किसानलाई भुक्तानी गर्न समस्या भएको उनको भनाइ छ । उनले भने, ‘अलिअलि त हामीले दिइरहेका छौँ तर हाम्रै पुँजी फसेका कारणले भुक्तानी दिनमा समस्या भइरहेको छ ।’ भण्डारन भएका दुग्धजन्य पदार्थ बिक्री गर्न पाएमा किसानको सबै रकम भुक्तानी गर्न सकिने उनको भनाइ छ ।
डेरी उद्योग सङघका अध्यक्ष राजकुमार दाहालले करिब १० अर्ब रुपियाँभन्दा बढीको दुग्धजन्य पदार्थ डम्प भएर बसेका कारण समयामा भुक्तानी गर्न नसकिएको बताए । उनले कोरोना महामारीको बन्दाबन्दीमा किसानबाट करिब एक अर्ब बराबरको एक करोड २० लाख लिटरभन्दा बढी दूध सङकलन गरी नौ सय मेट्रिक टन धुलो दूध र छ सय मेट्रिक टन नौनी उत्पादन गरी आयात प्रतिस्थापनमा योगदान दिएको दाबी गरे ।
सरकार स्वामित्वमा रहेको दुग्ध विकास संथान (डीडीसी)ले पनि करिब तीन महिनादेखि किसानको भुक्तानी दिएको छैन । दूधको ३० प्रतिशत क्षेत्र ओगटेको डीडीसीले पनि आफ्नो दुग्धजन्य पदार्थ बिक्री नभएका कारण किसानको भुक्तानीमा समस्या भएको जनाएको छ ।
डीडीसीका बजार प्रमुख सञ्जीव झाका अनुसार किसानलाई करिब ५० करोड रुपियाँ भुक्तानी गर्न बाँकी रहेको छ भने एक अर्बभन्दा बढीको दुग्धजन्य पदार्थ भण्डारमा डम्प भएको छ । कोरोनापछि बजार क्रमिक रूपमा सुधार हुँदै गइरहेको र सोही अनुपातमा भुक्तानी हुन थालेको उनले बताए ।
किसानको बक्यौता रकम भुक्तानी दिन भनि डीडीसीले कृषि तथा पशुपन्छी विकास मन्त्रालयसँग रकम पनि माग गरेको छ । अहिलेसम्म मन्त्रालयले त्यसमा कुनै प्रतिक्रिया पठाएको छैन । दूध उत्पादन गर्दै आउनुभएका चितवनका किसान भगीरथ तिमिल्सिनाका अनुसार कोरोनाको महामारीको बेला पनि किसान अहिलेको जस्तो समस्या भोग्नुपरेको थिएन । दूधको भुक्तानी नपाउँदा कतिपय किसान गाईभैँसी बेच्न बाध्य भएको उनको भनाइ रहेकाे समाचार गाेरखापत्र दैनिकमा छापिएकाे छ ।
