१५ लाखले लगाए कोरोनाविरुद्धको खोप

काठमाडौँ । कोरोनाविरुद्धको खोप अभियान सुरु भएपछिको डेढ महिनामा १५ लाखभन्दा बढीले कोभिसिल्ड खोप लगाएका छन् । सरकारले ल्याएको २३ लाख ४६ हजार डोज खोपमध्ये हिजो शनिबारसम्ममा १५ लाखले खोप सेवा लिएका हुन् ।

भारतको सेरम कम्पनीबाट खरिद गरेकोबाट १० लाख, भारतले अनुदानमा दिएको १० लाख र कोभ्याक्सबाट अनुदानमा पाएको तीन लाख ४६ हजार गरी सरकारले २३ लाख ४६ हजार डोज जुटाएको थियो । अब सरकारसँग आठ लाख ४६ हजार डोज खोप मौज्दात छ । सेरमले अझै १० लाख खोप दिन बाँकी छ । त्यसबापत तिर्नुपर्ने ५० करोड रुपैयाँ सरकारले भुक्तानी गरिसकेको छ ।

रकम लिएर पनि सेरमले समयमा आपूर्ति नगर्दा खोप अभियान पनि प्रभावित भएको छ । सहरी क्षेत्रमा अझै केही दिन खोप अभियान चल्नेछ । तर, खोप नहुँदा दुर्गम जिल्लाहरूमा अभियान रोकिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मुगु, कालिकोट, पर्वतलगायत जिल्लामा खोप अभावले अभियान रोकिएको छ ।

स्वास्थ्य मन्त्रालयका अधिकारीहरू कोभ्याक्स सुविधाले धोका दिएका कारण पनि खोप अभियान प्रभावित भएको बताउँछन् । कोभ्याक्स सुविधाले कुल जनसंख्याको २० प्रतिशत अर्थात् झन्डै एक करोड ३० लाख डोज दिने प्रतिबद्धता गरेको थियो । पहिलो चरणमा भने २२ लाख ४६ हजार डोज दिन सूची सार्वजनिक गरे पनि जम्मा तीन लाख ४६ हजार खोप मात्रै उपलब्ध गराएको थियो ।

तर, स्वास्थ्य सेवा विभाग परिवार कल्याण बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा. झलक शर्मा गौतमले भने खोप अभाव नभई लक्षित समूह सकिएकाले स्थगित भएको दाबी गरेको समाचार नयाँ पत्रिका दैनिकमा छापिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *