काठमाडौँ । नेकपा एमालेको माधवकुमार नेपाल समूहले राष्ट्रिय भेला बोलाएको छ । अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आफूपक्षका नेताहरूलाई जिम्मेवारीबाट हटाएपछि नेपाल समूहले राष्ट्रिय भेला बोलाएको हो ।
शनिबार काठमाडौंमा उपलब्ध सांसद र केन्द्रीय कमिटी सदस्यहरूको भेलाले चैत ४ र ५ गते काठमाडौंमा राष्ट्रिय कार्यकर्ता भेला बोलाएको हो । भेलामा आगामी कार्यदिशाबारे थप निर्णय लिइने नेपाल समूहले जनाएको छ ।
शनिबार बसेको नेपाल समूहको बैठकले विभिन्न प्रदेशमा पार्टी कामको संयोजन गर्नका लागि नेताहरूलाई जिम्मेवारी तोकेको छ । प्रदेश १ को जिम्मेवारी भीम आचार्य, प्रदेश २ मा घनश्याम भुसाल, वाग्मती प्रदेशमा अष्टलक्ष्मी शाक्य, गण्डकी प्रदेशमा सुरेन्द्र पाण्डे लुम्बिनी र कर्णाली प्रदेशमा युवराज ज्ञवाली र सुदूरपश्चिम प्रदेशमा पार्टी कामको जिम्मेवारी भीम रावललाई दिइएको छ ।
त्यस्तै, युवा संगठनको रघु पन्त, विद्यार्थीको गोकर्ण विष्ट, प्रचार विभागमा योगेश भट्टराई, महिला संगठनको अष्टलक्ष्मी शाक्य, वुद्धिजीवीको प्रमेश हमाललाई जिम्मेवारी दिइएको छ ।
