एमालेमा गएका नेतामाथि माओवादी केन्द्रले कारबाही गर्ने

काठमाडौँ । पार्टी छाडेर एमालेमा गएका नेतामाथि माओवादी केन्द्रले कारबाही प्रक्रिया सुरु गर्ने भएको छ । सत्तासमीकरण र पार्टी छाडेर हिँडेका नेताका विषयमा छलफल गर्न अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आइतबार स्थायी कमिटी बैठक बोलाएका छन् ।

कांग्रेस र जसपाबीच नयाँ समीकरणलाई लिएर सकारात्मक छलफल भएलगत्तै प्रचण्डले पार्टी स्थायी कमिटी बैठक बोलाएका हुन् । बैठकमा सम्भावित समीकरणबारे छलफल हुने नेताहरूले बताएका छन् ।

त्यसैगरी बैठकमा पार्टी छाडेर हिँड्नेमाथि कारबाही प्रक्रिया अगाडि बढाइने पनि नेताहरूको भनाइ छ । ‘पार्टी छाडेर हिँड्नेलाई यथाशीघ्र घर फर्कन भन्छौँ । उहाँहरूले मान्नुभएन भने पार्टी विधानअनुसार कारबाही प्रक्रिया अगाडि बढ्छ,’ स्थायी कमिटी सदस्य जनार्दन शर्माले भने, ‘यस विषयमा आइतबारको स्थायी कमिटी बैठकमा छलफल गरेर आवश्यक निर्णय लिन्छौँ ।’

सर्वोच्चको फैसलाले एमाले र माओवादी केन्द्रलाई ब्युँताइदिएपछि माओवादी केन्द्रका नेताहरू रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणिचन्द्र थापा, प्रभु साह, गौरीशंकर थारू, टंक आङबुहाङ, दधिराम न्यौपाने, दिनेश पन्थी, धर्मराज रेग्मी, दावा लामा र चन्द्रबहादुर खड्कालगायत नेता एमालेमै क्रियाशील भएका छन् । एमालेले संकटका वेला पार्टी एकता र नेतृत्वको रक्षाका लागि दृढतापूर्वक उभिएको भन्दै पूर्वमाओवादी समूहका २३ जनालाई केन्द्रीय सदस्य बनाएको छ ।

बादल गृह, रायमाझी ऊर्जा, भट्ट वाणिज्य, थापा खानेपानी, साह सहरी विकास, थारू श्रम र लामा खेलकुदमन्त्री छन् । माओवादी केन्द्रले कारबाही गरे बादल, भट्ट, साह र थारूको सांसद पद पनि धरापमा पर्नेछ । यसबाहेक सर्वोच्चले नेकपाको एकता बदर हुने गरी फैसला दिएपछि माओवादी केन्द्रले पार्टीको नाम परिवर्तन गर्ने गृहकार्य पनि सुरु गरेको समाचार नयाँ पत्रिका दैनिकमा छापिएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *