एमालेमा ओली समूहको एकलौटी निर्णय, अध्यक्ष र महासचिवबाहेकका पदाधिकारीको जिम्मेवारी खोसियो

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले महासचिवबाहेक सबै पदाधिकारीलाई पदबाट हटाएका छन् । शुक्रबार प्रधानमन्त्री ओलीले नवौं महाधिवेशनबाट निर्वाचित सबै पदाधिकारीलाई हटाएर आफू र महासचिवको जिम्मेवारी भने यथावत राखेका छन् ।

यसैगरी ओली समूहको केन्द्रीय कमिटीको नाम दिइएको बैठकले मंसिर २ गतेदेखि ६ गतेसम्म एमालेको महाधिवेशन गर्ने निर्णयसमेत गरेको छ । प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले प्रदेश इन्चार्जको जिम्मेवारी हेरफेर गरेका छन् ।

सातै प्रदेशका इन्चार्जको जिम्मेवारी हेरफेर गर्ने क्रममा बागमती र सुदूरपश्चिम प्रदेशको नेतृत्व पूर्वमाओवादी नेताले पाएका छन् । बागमती प्रदेशमा अष्टलक्ष्मी शाक्यलाई हटाएर रामबहादुर थापालाई इन्चार्जको जिम्मेवारी दिइएको छ भने भीम रावललाई हटाएर सूदूरपश्चिम प्रदेश इन्चार्जको जिम्मेवारी लेखराज भट्टलाई दिइएको छ ।

त्यसैगरी प्रदेश १ मा सुवासचन्द्र नेम्वाङ, प्रदेश २ मा सत्यनाराण मण्डल, गण्डकीमा पृथ्वीसब्बा गुरुङ, लुम्बिनीमा शंकर पोखरेल र कर्णालीमा यमलाल कडेँल एमाले इन्चार्ज बनेका छन् ।

शुक्रबारको बैठकलाई केन्द्रीय कमिटीको नाम दिइएपनि ओली समूह मात्र सहभागी भएको छ । माधव नेपाल पक्षलाई बैठकका बारेमा कुनै जानकारी दिइएको छैन । यसअघि चैत एक गतेलाई केन्द्रीय कमिटी बैठक बोलाइएको खबर सार्वजनिक भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *