गण्डकी । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयको प्रवद्र्धन एवं ट्रेकिङ इक्विपमेन्ट सप एशोसिएशन(टेसा) पोखराको आयोजनामा पदयात्रा एवं पदयात्रा सामग्रीको प्रयोग तथा जानकारी विषयक अवलोकन भ्रमण गराइने भएको छ ।
पछिल्ला वर्षमा पदयात्रा पर्यटनमा आकर्षक गन्तव्यका रुपमा परिचित मर्दी पदयात्रा मार्गमा पर्यटनसम्बद्ध व्यवसायी, नेपाल पर्यटन बोर्डका प्रतिनिधि र सञ्चारकर्मीसहितको ३० सदस्यीय टोलीले आगामी चैत १ देखि ४ गतेसम्म अवलोकन भ्रमण गर्न लागेको हो ।
कोरोनाका कारण लामो समयदेखि तहसनहस पदयात्रा पर्यटनलाई पुरानै लयमा फर्काउनाका साथै पदयात्रामा प्रयोग गरिने सामग्रीको प्रयोगात्मक जानकारीसमेत गराउने लक्ष्यका साथ अवलोकन भ्रमण गराउन लागिएको कार्यक्रम संयोजक एवं टेसा पोखराका निवर्तमान अध्यक्ष रामचन्द्र गिरीले जानकारी दिए ।
उनका अनुसार चार दिने पदयात्राका क्रममा सहभागीले कास्कीको काँडेदेखि अष्ट्रेलियन क्याम्प, प्रितम देउराली, फरेष्ट क्याम्प, बादलडाँडा, मर्दी हाइक्याम्प हुँदै भ्यु प्वाइन्टसम्म पदयात्रा गर्दै फर्कने छन् । हिउँले ढाकिएका हिमाल, वरपरदेखिने हरिया वनजङ्गल, डाँडाकाँडा र बस्तीको एकसाथ दृश्यावलोकन मर्दी ट्रेकको विशिष्टता भएको उनले बताए ।
अवलोकन भ्रमणले मर्दी पदयात्राको प्रवद्र्धनका साथै पदयात्रामा प्रयोग गरिने सामग्री, त्यसको गुणस्तरीयता एवं उपलब्धतालगायतका विषयमा थप जानकारी प्राप्त हुने नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय पोखराका प्रमुख काशीराज भण्डारीले जानकारी दिए ।
कोरोनाले लामो समयदेखि सुस्ताएको पर्यटनलाई चलायमान बनाउन बोर्डका तर्फबाट पर्यटनसम्बद्ध सङ्घ संस्थासँगको सहकार्यमा विभिन्न प्रवद्र्धनात्मक कार्यक्रम सञ्चालन गरिएको उनले जानकारी दिए ।
पदयात्रा पर्यटनमा प्रयोग गरिने सामग्रीको बिक्री वितरणलाई प्रभावकारी बनाउने लक्ष्यका साथ पोखरामा २०५४ सालदेखि संस्थागत रुपमा नै ट्रेकिङ इक्युपमेन्ट सप एशोसिएशन(टेसा) क्रियाशील छ । पदयात्रा पर्यटनको प्रवद्र्धन र विकासमा महत्वपूर्ण योगदान गर्दै आएको टेसामा हाल विभिन्न ७५ व्यवसायी आवद्ध छन् ।
