विश्वप्रकाशको प्रश्नः ‘नौ महिना मन्त्री भएको गगन र एक पटक सांसद बनेको मैले करोडौँ बुझाउन सकौँला र ?’(भिडियो)

काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले पार्टी सभापति गगन थापाको नेतृत्व चयनलाई १८ करोड रुपैयाँको आर्थिक लेनदेनसँग जोडेर भइरहेका प्रचारको खण्डन गरेका छन् ।

बनेपामा नेपाली कांग्रेस जिल्ला कार्यसमिति काभ्रेले आयोजना गरेको ‘नेपाली कांग्रेसको बदलिएको सोच र कार्यशैली’ विषयक अभिमुखीकरण कार्यक्रममा शर्माले प्रमाणबिना लगाइएका आरोपको पछि नलाग्न आग्रह गरे । उनले विशेष महाधिवेशन र त्यसबाट स्थापित नेतृत्व विधि, विधान तथा प्रक्रियाअनुसार चयन भएको दाबी गरे ।

आर्थिक लेनदेनको आरोपप्रति प्रश्न गर्दै शर्माले आफू र सभापति थापाको राजनीतिक पृष्ठभूमि उल्लेख गरे । उनले भने, ‘एकपटक केवल स्वास्थ्य मन्त्री आठ–नौ महिना भएको गगन थापा र जिन्दगीमा मन्त्री कहिल्यै नबनेको, सांसद मात्रै बनेको विश्वप्रकाश शर्मा । करोडौँ–करोड बुझाउनुपर्यो भने हामी दुई भाइले बुझाउन सकौँला कि ? वर्षौंसम्म पटकपटक सत्तामा बसेका नेताहरू त उहाँहरूले बुझाउन सक्ने होइन र ?’

शर्माले आरोप लगाउँदैमा त्यसलाई कानुनी प्रमाण मान्न नसकिने तर्कसमेत गरे । बैंक डकैतीमा पक्राउ परेको व्यक्तिले कुनै राजनीतिक व्यक्तिलाई प्रधानमन्त्री बनाउन ५० करोड रुपैयाँ लेनदेन भएको दाबी गर्दैमा त्यसलाई प्रमाण मान्न सकिन्छ कि सकिँदैन भन्ने उदाहरण दिँदै उनले सामाजिक सञ्जालमा फैलिएका प्रचारप्रति सचेत रहन आग्रह गरे ।

‘एउटा बिचौलियाले कतै भन्यो अरे । कसैले केही भन्यो अरे भन्दैमा त्यसलाई अदालतले मान्छ कि मान्दैन ? कानुनले मान्छ कि मान्दैन ? सामाजिक सञ्जालका मान्छे त्यसैको पछाडि उफ्रिनुहुन्छ कि हुन्न ?’ शर्माले भने ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *