भारत र कोभ्याक्सको प्रतिवद्धता पूरा नभएपछि खोप अभियानमा धक्का

काठमाडौँ । भारत सरकार र कोभ्याक्सले नेपाललाई उपलब्ध गराउने भनेको खोपको पूरा मात्रामा नआएपछि सरकारको खोप अभियानामा धक्का लागेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार कोभ्याक्सले प्रतिवद्धता जनाएको खोप आगामी जेठभित्र मात्र आइपुग्ने स्थिति देखिएको छ ।

कोभिड १९ विरुद्धको खोप व्यवस्थापन संयोजक डा. श्यामराज उप्रेतीका अनुसार कोभ्याक्सले पहिलो लटमै २२ लाख ५६ हजार डोज खोप दिने भनेकोमा ३ लाख ४८ हजार डोजमात्र यही साता नेपाल आइपुगेको छ । कोभ्यााक्सले पहिलो लटमा उपलब्ध गराउने भनेको खोप कम मात्रामा आइपुगेपछि सरकारले पूर्वघोषित उमेर समूह ५५ बाट बढाएर ६५ वर्षमाथिकालाई मात्र खोप अभियान सुरु गरेको छ ।

कोभ्याक्सले दिने भनेको र भारतबाट खरिद गरेर ल्याउने भनेको खोप पूरा नआएपछि ६५ वर्ष उमेरमाथिकालाई मात्र दिन थालिएको परिवार कल्याण महाशाखा खोप शाखाका प्रमुख डा. झलक गौतमले बताए । ‘कोभ्याक्सको पूरा खोप आएन, नेपालले भारतबाट खरिद गरी ल्याउने भनेको खोप पनि पूरा नआएपछि खोप दिने उमेर समूह संशोधन गर्‍यौं’, उनले भने ।

खोप नपुगेपछि पूर्वघोषित उमेर समूहका ज्येष्ठ नागरिकलाई खोप लगाउन नसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ महेन्द्र श्रेष्ठले बताए । ‘भनेजति खोप आउन नसकेपछि ६५ वर्ष उमेरमाथिकालाई मात्र खोप दिन सुरु गर्‍यौं’, उनले भने ।

नेपाल आफैंले भारतबाट खरिद गरेर ल्याउने खोप मार्चभित्र आउने संकेत मिलेको छ । कोभिसिल्ड खोप नेपाल आइपुगेको अवस्थामा नेपालसित दोस्रो चरणमा जम्मा २३ लाख ४० हजार खोप हुने छ । चीनले अनुदानस्वरूप दिने भनिएको ५ लाख डोज खोप आउने कुरा पनि अहिलेसम्म निश्चित नभएको डा. उप्रेतीले बताएको समाचार नागरिक दैनिकमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *