काठमाडौँ । मेलम्चीको पानी पिउने काठमाडौँ उपत्यकावासीको लामो समयदेखिको सपना अब केही दिनभित्रै साकार हुँदैछ । चैतको दोस्रो साताबाट काठमाडौँ उपत्यकामा मेलम्चीको पानी वितरण गर्ने कार्यतालिका तय भएको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ ।
समितिका कार्यकारी निर्देशक तिरेशप्रसाद खत्रीले मेलम्चीको पानी पिउने काठमाडौँवासीको लामो समयदेखिको सपना अब छिट्टै साकार हुने बताए । उनले भने, ‘‘चैत दोस्रो साताबाट तीन महिनासम्म परीक्षणका रूपमा काठमाडौँ उपत्यकामा मेलम्चीको पानी वितरण गरिनेछ । परीक्षण सफल भएपछि वितरण कार्य एक महिना रोकेर ‘फुल फेज’ मा पानी वितरण गरिनेछ ।’’
परीक्षणका रूपमा उपत्यकामा दैनिक १७ करोड लिटर पानी ल्याइने र काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)को वितरण प्रणालीबाट पानी वितरण गरिने कार्यकारी निर्देशक खत्रीले जानकारी दिए । प्रधानमन्त्री केपी शर्मा ओलीले फागुन २२ गते फ्लसिङ टनेलको हाइड्रो मेकानिकल गेटको बटन थिचेर सुन्दरीजलमा मेलम्चीको जलप्रवाहको शुभारम्भ गरेका थियो । सिन्धुपाल्चोकको हेलम्बु अम्बाथानस्थित हेडबक्सबाट फागुन १० गते करिब २७ किलोमिटर लामो सुरुङमा पानी प्रवाह गराइएको थियो ।
कार्यकारी निर्देशक खत्रीका अनुसार काठमाडौँ उपत्यकामा पानी वितरणका लागि चैतको दोस्रो साताबाट सुन्दरीजलस्थित प्रशोधन केन्द्रमा खसालिनेछ । सुरुङ सफा गर्ने काम भएकाले अहिले सुरुङको पानी बागमतीमा प्रवाह गरिएको छ । मेलम्चीको पानी काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको विद्यमान वितरण प्रणालीमा मिसिन्छ र सँगसँगै वितरण हुनेछ ।
वितरणको तयारी पूरा
मेलम्ची खानेपानी आयोजना कार्यान्वयन निर्देशनालयका निर्देशक कमल श्रेष्ठले सुन्दरीजल प्रशोधन केन्द्रबाट आएको पानी वितरणका लागि सम्पूर्ण तयारी पूरा भइसकेको जानकारी दिए । उनले भने, ‘‘मेलम्चीको पानी वितरणका लागि अहिलेसम्म कुल एक हजार १२५ किलोमिटरमा नयाँ वितरण प्रणालीको विकास गरिएको छ । त्यस प्रणालीमध्ये दुई सय किलोमिटरको परीक्षण कार्य सम्पन्न भई पानी वितरण गर्न तयारी अवस्थामा रहेको छ ।’’
उनले भने, ‘‘परीक्षण भएका दुई सय किलोमिटरबाहेक बाँकी सबै ठाउँमा केयूकेएलको मौजुदा प्रणालीमा जोडिएर मेलम्चीको पानी आपूर्ति गर्ने आयोजनाको आन्तरिक तयारी छ ।’’ केयूकेएलले सेवा उपलब्ध गराइरहेको क्षेत्रमध्ये एक लाख दस हजार घरधुरीमा नयाँ प्रणालीमार्फत आपूर्ति गर्ने योजना रहेकोमा ८० हजार घरधुरीमा धारा जडान गरिएको छ । तीमध्ये १५ हजार धाराको परीक्षण भई पानी आपूर्ति गर्न सकिने अवस्था पुगिसकेको उनले जानकारी दिए ।
पहिलो चरणअन्तर्गत नरेफाँटसहित काठमाडौँ र ललितपुरका चक्रपथभित्रका एक लाख दस हजार घरधुरीलाई पानी वितरण गर्ने कार्यक्रम आयोजनाको छ । दोस्रो चरणअन्तर्गत भक्तपुरसहित काठमाडौँ र ललितपुरको चक्रपथ बाहिरको क्षेत्रमा मेलम्चीको पानी वितरण गर्ने कार्यक्रम रहेको निर्देशक श्रेष्ठले बताए ।
पाइप बिछ्याउने काम सम्पन्न
आयोजनाको पहिलो चरणअन्तर्गत एक हजार १५० किलोमिटरमा पाइप बिछ्याउने काम सम्पन्न भइसकेको छ । दोस्रो चरणमा पाइप बिछ्याउनका लागि ठेक्का सम्झौता भई निर्माण कम्पनीले कार्यादेश पाइसकेको निर्देशक श्रेष्ठले जानकारी दिए ।
दोस्रो चरणअन्तर्गत करिब आठ सय किलोमिटर पाइप बिछ्याइने छ । गत असोजमा सम्झौता भएको दोस्रो चरणको कार्यावधि तीन वर्ष रहेको छ ।
चौबिसै घण्टा पानी
धारामा चौबिसै घण्टा पानी रहने गरी मेलम्चीको पानी वितरण गरिने लक्ष्य आयोजनाको रहेको मेलम्ची खानेपानी आयोजना कार्यान्वयन निर्देशनालयका निर्देशक श्रेष्ठले जानकारी दिए ।
‘‘जुन बेला पनि धारामा पानी आउने गरी प्रणालीको विकास गरिएको छ, त्यसैअनुसार पाइपमा पानी पठाइनेछ’’, उनले भने, ‘‘तर केही वर्षयता उपत्यकावासीमा कम पानी प्रयोग गर्ने बानीको विकास भइसकेको अहिलेको अवस्थामा पाइपलाइनमा प्रवाह गरिएको पानी फिर्ता हुने, ‘ओभर फ्लो’ हुने, पानीको चापले पाइप फुट्ने, भल्ब चेम्बरबाट पानी निस्कनेजस्ता समस्या आएको खण्डमा तालिका अनुसार पानी वितरण गरिनेछ ।’’
काठमाडौँ उपत्यकामा खानेपानी वितरणका लागि सन् १९७२ देखि पानीका सम्भाव्य स्रोतको पहिचानका लागि अध्ययन कार्य थालिएकोमा सन् १९८४ मा भएको अध्ययनले उपत्यकामा खानेपानी समस्याको दीर्घकालीन समाधानका लागि मेलम्ची, याङ्ग्री र लार्के नै भनी निष्कर्षसहित निर्माण प्रक्रिया अगाडि बढाइएको थियो समाचार गाेरखापत्र दैनिकमा छापिएकाे छ ।
