नयाँ सत्तासमीकरणमा जनता समाजवादी पार्टी निर्णायक

काठमाडौँ । नयाँ सत्तासमीकरणमा जनता समाजवादी पार्टी निर्णायक बनेको छ । एमाले, कांग्रेस र माओवादीले समीकरणका लागि जसपासँग संवाद थालेका छन् । मंगलबार साँझसम्म जसपाले भावी समीकरणलाई लिएर औपचारिक निर्णय भने लिएको छैन ।

प्रतिनिधिसभामा ३४ (हाल कायम ३२) सिट रहेको जसपाले सहयोग गरेमा प्रधानमन्त्री केपी ओलीको सरकारलाई सुविधाजनक बहुमत पुग्नेछ । एमालेसँग एक सय २१ मत रहेकाले जसपाले समर्थन गरेमा ओलीसँग एक सय ५३ मत पुग्नेछ । सरकार बनाउन अहिले १३५ मत पर्याप्त हुन्छ । त्यस्तै, ओलीको विकल्पमा सरकार बनाउन कांग्रेस (६१), माओवादी केन्द्र (५३) लाई जसपा (३२) को समर्थन अनिवार्य हुन्छ । यी तीन दलको समीकरणले १४६ मत पु¥याउन सक्छन् ।

जसपाले सत्तासमीकरणदेखि संविधान संशोधनसम्मका मुद्दामा अन्य दलसँग संवाद गर्न कार्यदल बनाउने निर्णय गरेको छ । जसपाले आफ्ना एजेन्डा नगदमै हल हुने गरी समीकरणबारे निर्णय लिने बताएको छ । पार्टी पदाधिकारी बैठकले नयाँ समीकरणबारे निर्णय लिने जसपाका शीर्ष नेताहरूले बताएका छन् ।

जसपा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले पार्टीको संसदीय दलको बैठकमा नयाँ समीकरणबारे छलफल भएको, तर यसबारे पदाधिकारी बैठकले अन्तिम निर्णय लिने बताए । ‘आज (मंगलबार) हाम्रो संयुक्त संसदीय दलको पहिलो बैठक बसेको हो । साथीहरूले समसामयिक राजनीतिका विषयमा आ–आफ्नो धारणा राख्नुभयो । त्यसमा आमधारणा भनेको अहिले ओली नै यो प्रतिगमनका मुख्य बाहक हुन् । उनको बिदाइ जरुरी छ, अब कुनै पनि ढंगले फेरि ओलीप्रति नरम हुने स्थिति आउँदैन । ओलीलाई छिटो छिटोभन्दा बिदा गर्नुपर्छ, त्यसका लागि विचार मिल्ने शक्तिहरूसँग गठबन्धन गरेर ओलीलाई विस्थापित गर्नुपर्छ भन्ने हो । तर, यसबारे हामी पदाधिकारी बैठक बसेर निर्णय लिन्छौँ,’ डा. भट्टराईले भने ।

तर, जसपा वरिष्ठ नेता राजेन्द्र महतोले उधारोमा कुनै पनि पक्षलाई समर्थन वा सहयोग नहुने भन्दै सरकारमा सहभागी भएर सँगै जाने विषय धेरै टाढाको विषय भएको बताए । ‘विगतमा गरेको गल्ती जसपाले अब गर्दैन । विभिन्न कालखण्डमा ठगिएका छौँ । जसपा वैकल्पिक शक्ति निर्माणका लागि बनेको हो । त्यसका लागि जनताको विश्वास गुमाउनुहुँदैन भन्ने मान्यतामा हामी पुगेका छौँ । त्यसैको आधारमा अघि बढ्छौँ,’ उनले भने ।

जसपाभित्र भावी सत्तासमीकरणलाई लिएर नेताहरूबीच मंगलबार संसदीय दलमा मतभेद देखिएको छ । मंगलबार बसेको संसदीय दलको बैठकको अध्यक्ष ज्येष्ठताका आधारमा अध्यक्ष महन्थ ठाकुरले गरेका थिए । प्रधानमन्त्री ओलीसँग संवादमा रहेको विषय अध्यक्ष ठाकुरले संसदीय दल बैठकमा जानकारी गराएपछि केही नेताले असन्तुष्टि पोखेका थिए ।

सांसद प्रदीप यादवले आफूलगायत तमाम नेता–कार्यकर्तामाथि मधेस आन्दोलनका वेलामा लागेका मुद्दा विचाराधीन रहेका वेला एकतर्फी रूपमा अघि बढेर समस्याको समाधान नहुने धारणा राखेका थिए । ‘मधेस आन्दोलनका वेला झुटा मुद्दा लगाएर दुःख पाइरहेका नेता–कार्यकर्ताको संख्या ठूलो छ । म स्वयं पनि तारेख धाइरहेको छु । अरू तमाम साथीको अवस्था यही छ,’ सांसद यादवले आफ्नो धारणा राख्दै प्रश्न गरेका थिए, ‘यस्तो वेलामा एकपक्षीय ढंगले हामीसँग वा शीर्षस्त नेताको तहमा छलफल नै नगरी सरकारसँग संवादमा गएर कसरी समस्या समाधान हुन्छ ?’

बैठकले विकसित घटनाक्रम र आन्तरिक समायोजन सम्पन्न गर्न पाँच सदस्यीय कार्यदल बनाउने निर्णय गरेको छ । अहिलेको अवस्था आफ्ना एजेन्डा सम्बोधन गराउन कुन पक्षसँग सहकार्य गर्ने र कसरी अगाडि बढ्ने भन्ने विषयमा निष्कर्ष निकाल्न कार्यदल गठन गरिएको जसपा नेता तथा पूर्वमन्त्री मोहम्मद इस्तियाक राईले बताए ।

तत्कालीन संघीय समाजवादी र राष्ट्रिय जनता पार्टीबीच गत १० वैशाखमा पार्टी एकता भएर जसपा बनेको हो । तर, त्यसयता कोरोना महामारी र मुलुकमा उत्पन्न राजनीतिक घटनाक्रमका कारण पार्टी संसदीय दलको बैठक बस्न सकेको थिएन ।

अंकगणितकै दबाबमा आएका प्रधानमन्त्री ओली जसपाको समर्थन जुटाउने कोसिसमा छन् । एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले सत्तासमीकरणलाई लिएर प्रधानमन्त्री सबै राजनीतिक दलसँग सम्पर्कमा रहेको बताए । ‘प्रधानमन्त्रीज्यू सबै राजनीतिक दलसँग सम्पर्कमा हुनुहुन्छ । के गर्छ सरकारले गर्ने छँदै छ, बाँकी मलाई जानकारी छैन,’ उनले भने ।

प्रधानमन्त्री ओलीले भने जसपासँग पार्टीगत हिसाबले भन्दा बढी त्यसभित्रको एउटा खेमा राष्ट्रिय जनता पार्टी (राजपा) पक्षसँग संवाद बढाएका छन् । उनले राजपा पक्षबाट जसपाको अध्यक्ष रहेका ठाकुरसँग भेट गरेर सत्तासाझेदारीका विषयमा छलफलको प्रस्ताव गरे । प्रधानमन्त्री ओलीले अध्यक्ष ठाकुरलाई सरकारमा सहभागी हुन प्रस्ताव मात्रै गरेनन्, त्यसका लागि आफूले सम्बोधन गर्नुपर्ने मागबारे समेत चासो राखेका थिए । ओलीले त्यसका लागि दुवै पक्षबाट कार्यदल बनाएर संवादलाई अगाडि बढाउन प्रस्ताव गरेको स्रोतको दाबी छ ।

प्रधानमन्त्री ओलीले नेता नेम्वाङसहित अर्थमन्त्री विष्णुप्रसाद पौडेल र आफ्ना परराष्ट्र सल्लाहकार राजन भट्टराईलाई छलफल गर्न भनेका थिए । ओलीसँगको भेटपछि जसपा अध्यक्ष ठाकुरले पनि आफ्नोतर्फबाट सर्वेन्द्रनाथ शुक्ल र लक्ष्मणलाल कर्णलाई संवाद गर्न पठाएका थिए । यद्यपि, छलफलमा सत्तासमीकरणभन्दा पनि मधेस र थरुहट आन्दोलनको केसमा थुनामा रहेका सांसद रेशम चौधरीलगायत नेता–कार्यकर्ताको रिहाइको विषयमा कुराकानी भएको जसपा नेताहरूको भनाइ छ ।

नेता नेम्वाङले पनि जसपा नेता र आफूहरूबीच बालुवाटारमा छलफल भएको बताए । ‘उहाँहरू (सर्वेन्द्रनाथ शुक्ल र लक्ष्मणलाल कर्णजी) बालुवाटार आउनुभएको थियो । हामी (म, विष्णु पौडेल र राजन भट्टराई)सँग भेट भयो । उहाँहरूले हामीले पहिलेदेखि नै बारम्बार रेशम चौधरीको मुद्दा उठाउँदै आएका छौँ । त्यो मुद्दामा सरकारले पहल गरेर उहाँलाई रिहाइ गर्नुपर्छ भन्ने उहाँहरूको माग थियो,’ नेम्वाङले भने । तर, एमालेले त्यस्तो कुनै औपचारिक कार्यदल नबनाएको उनको भनाइ छ ।

नयाँ पत्रिका दैनिकमा छापिएकाे समाचारअनुसार जसपा नेता महतोले सरकारले वार्ताका लागि बोलाएपछि आफ्नो पक्षबाट नेताहरू छलफलमा गएको बताए । अचानक छलफलका लागि बोलाएपछि नेताहरू शुक्ल र कर्णलाई छलफलमा पठाएको, तर सरकारमा जानका लागि कुराकानी नभएको जिकिर महतोले गरे । ‘जबसम्म सवालहरू रहन्छन्, तबसम्म पटकपटक कुरा भइरहन्छ । एजेन्डा सम्बोधन गराउने प्रयास जारी रहन्छ । त्यो त हामी गछौँ,’ उनले भने, ‘अहिले आएर औपचारिक वार्ता टोली नै बनाउने कुरा भएको छ । उक्त छलफलमा सहभागी दुईजना र थप तीनजना राखेर कार्यदल बनाउँछौँ । त्यसले सबै पक्षसँग वार्ता गर्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *