प्रज्जवल थापा । युईएफए च्यामियन्स लिग अन्तर्गत हुने अन्तिम १६ को दोस्रो लेगमा आज युभेन्टस र एफसी पोर्टो भिड्दै छन् । एल्लिनाज एरिनामा हुने खेल नेपाली समय अनुसार राति १:४५ बजे शुरु हुनेछ ।
युभेन्टस पहिलो लेगमा पोर्टोसँग २-१ गोल अन्तरले पराजित भएको थियो । त्यसैलेपनि आज घरेलु मैदानमा हुने खेल जित्दै युभेन्टस क्वाटरफाइनल पुग्न चाहन्छ । अर्को चरण प्रवेशको लागि युभेन्टसलाई उत्कृष्ट पुनरागमनको आवश्यकता रहेको छ । जसको लागि रोनाल्डो चल्नु आवश्यक रहेको छ । सन् २०१८ मा पनि युभेन्टस अन्तिम १६ को पहिलो लेगमा एथेलेटिको म्याड्रिडसँग २-० गोलले पराजित हुँदा दोस्रो लेगमा रोनाल्डोले ह्याट्रिक गर्दै समाग्रमा ३-२ गोलको जित दिलाउदै टोलीलाई क्वाटर फाइनलको बाटो देखाएका थिए ।
यता पोर्टोपनि आजको खेलमा युभेन्टसलाई रोक्दै क्वाटर फाइनल पुग्ने योजनामा रहेको छ । पछिल्लो ५ खेलमा मात्र एक हार बेहोरेको पोर्चुगिज टोली घरेलु लिगमा दोस्रो स्थानमा रहेको छ । दुई टोलीबिच भएको पछिल्लो ३ भेटमा दुई खेल युभेन्टसले जितेको छ भने एक खेल पोर्टो जितेको थियो ।
यस्तै आजै हुने अर्को खेलमा डर्टमण्डले सेभिल्लाको सामना गर्नेछ । खेल नेपाली समय अनुसार राति १:४५ बजे शुरु हुनेछ । पहिलो लेगमा डर्टमण्ड ३-२ गोलले विजयी भएको थियो ।