रोनाल्डोको तारिफ गर्दै युभेन्टसले लेख्यो प्रेरणादायी सन्देश

प्रज्जवल थापा । स्टार फर्वार्ड क्रिस्टियानो रोनाल्डोलाई युभेन्टसले प्रेरणादायी सन्देश लेखेको छ । आइतबार युभेन्टसले सामाजिक सञ्जालमा रोनाल्डोको क्षमताको तारिफ गर्दै उक्त सन्देश लेखेको हो ।

मंगलबार युभेन्टसले युईएफए च्याम्पियन्स लिग अन्तर्गत अन्तिम १६ को दोस्रो लेगमा घरेलु मैदानमा एफसी पोर्टोको समाना गर्दैछ । पहिलो लेगमा २-१ गोल अन्तरको हार बेहोरेको युभेन्टसलाई क्वाटरफाइनल प्रवेशको लागि स्पष्ट जितको आवश्यकता रहेको छ । यसै सन्दर्भमा रहेर युभेन्टसले यस्तो ट्विट गरेको हो । क्लबले ट्विटरमा लेखेको छ, ‘तिमीले यो गर्न सक्छौ । तिमीले यो गरिसकेका छौ । अब तिमीले फेरि गर्न सक्छौ ।’

च्याम्पियन्स लिग फूटबलका सार्वधिक सफल खेलाडी रोनाल्डो सन् २०१८ मा स्पेनिस क्लब रियल म्याड्रिड छोड्दै युभेन्टस पुगेका थिए । क्लबमा भित्रिएकै वर्ष युभेन्टस च्याम्पियन्स लिगको अन्तिम १६ बाटै बाहिरिने खतरामा थियो । पहिलो लेगमा एथ्लेटिको म्याड्रिडसँग २-० गोलले पराजित भएसँगै धेरैले युभेन्टस बाहिरिने लगभग पक्का भएको तर्क राखेका थिए ।

तर घरेलु मैदानमा भएको दोस्रो लेगमा रोनाल्डोले ह्याट्रिक गर्दै युभेन्टसलाई समाग्रमा ३-२ गोलको जित दिलाउदै क्वाटरफाइनलको बाटो देखाएका थिए । हालपनि युभेन्टस त्यस्तै अवस्थामा रहेको छ । युभेन्टसलाई क्वाटर फाइनल प्रवेश गर्नको लागि उत्कृष्ट पुनरागमन्को आवश्यकता रहेको छ । जसको लागि रोनाल्डोको जादु आवश्यक छ । रोनाल्डोलाई “बिग गेम प्लेयर” भनेरपनि चिनिन्छ । किनभने रोनाल्डोले महत्त्वपूर्ण खेलहरुमा सबैको अपेक्षा विपरीत टोलीलाई जित दिलाउन माहिर छन् । अहिलेको अवस्थमा क्लब, सहयात्री, समर्थक सबै रोनाल्डोको जादु हेर्न आतुर छन् ।

नौ वर्षिय म्याड्रिड करियरमा चार पटक (समाग्रमा पाँच) च्याम्पियन्स लिग जितेका रोनाल्डोले युभेन्टसलाईपनि युरोपेली फूटबलको सबैभन्दा ठूलो प्रतियोगिता जिताउने लक्ष्य राख्दै क्लबमा भित्रिएका थिए । पछिल्लो दुई सिजनमा क्रमशः क्वाटर फाइनल र अन्तिम १६ बाट बाहिरिएको युभेन्टसले यस सिजन उपाधि जित्ने लक्ष्य राखेको छ । त्यसको लागि सर्वप्रथम पोर्टोको चुनौती पन्छाउनुपर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *