इक्वटोरीअल गिनीमा शृङ्खलाबद्ध विस्फोट, कम्तीमा १५ जनाको मृत्यु

पश्चिम अफ्रिकी देश इक्वटोरीअल गिनीमा भएका शृङ्खलाबद्ध विस्फोटनहरूमा परी कम्तीमा १५ जनाको ज्यान गएको र सयौँ घाइते भएका छन् । विस्फोटक पदार्थ डाइनामाइटको भण्डारणमा भएको लापरबाहीका कारण उक्त घटना भएको बताइएको छ ।

देशको मुख्य सहर बाटामा रहेको सैनिक ब्यारेक नजिकै भएका विस्फोटनहरू त्यहाँ डाइनामाइट भण्डारणमा भएको लापरबाहीले भएको इक्वटोरीअल गिनीका राष्ट्रपति टियोडोर ओबियाङ्ग एनग्वेमाले जनाएका छन् ।

सामाजिक सञ्जालमा प्रेषित तस्बिरमा धुवाँको बाक्लो मुस्लो अनि व्यापक क्षतिका दृश्यहरू देखिन्छ। कतिपयले भग्नावशेषमा फसेकाहरूको उद्धारका निम्ति खोज गरिरहेको देखिन्छ ।

लगातार ट्वीट गर्दै स्वास्थ्य मन्त्रालयले स्वयंसेवकहरूलाई बाटा क्षेत्रीय अस्पतालमा सहयोगका निम्ति पुग्न आह्वान गरेको छ । उसले रक्तदानको निम्ति पनि आह्वान गरेको छ ।

उसले गम्भीर तथा अति गम्भीर घाइतेहरूलाई तीन वटा अस्पतालमा उपचार भइरहेको जनाएको छ। ती अस्पतालमा अत्यधिक चाप परेको बताइएको छ ।

फ्रान्सका राजदूतले ट्वीट गर्दै उक्त विस्फोटनलाई भयानक घटनाभन्दै पीडितहरूप्रति समवेदना व्यक्त गरेका छन् । स्पेनी राजदूतावासले आफ्ना नागरिकलाई घरभित्रै बस्न भनेको छ । सन् १९६८ सम्म उक्त देश स्पेनको उपनिवेश थियो।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *